काठमाडौं। चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ।
मन्त्रालयमा भएको सो भेटवार्तामा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताए।
उनले नेपाल सरकारले अघि बढाएको डिजिटल नेपालको अभियानलाई प्रभावकारी बनाउन हुवावे विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेकोसमेत बताए। दूरसञ्चार पूर्वाधारको आधुनिकीकरण, स्वच्छ ऊर्जा प्रविधि, आधुनिक डेटा सेन्टर निर्माण, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधार विकासमा काम गरिरहेको र यी क्षेत्रमा नेपालसँग दीर्घकालीन सहकार्य गर्न चाहेको उनको भनाई थियो।
भेटका क्रममा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुहुँदै देशभर गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्न लागिएको उल्लेख गरे। नेपालमा हुवावेले लामो समयदेखि दूरसञ्चार पूर्वाधार निर्माण तथा प्राविधिक सेवा दिँदै आएकोमा कम्पनीको सेवा र कार्यसम्पादनमाथि कुनै प्रश्न उठ्ने अवस्था आउन नहुने पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले बर्ता। उनले काममा कुनै समस्या वा कमजोरी देखिए त्यसलाई तत्काल समाधान गर्न तथा पारदर्शिता र कार्यकुशलतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।
‘नेपालमा हुवावेले गरेको काम र सेवामाथि कुनै प्रश्न उठ्नु हुँदैन। यदि कतै समस्या देखिन्छ भने त्यसलाई तत्काल समाधान गर्नुपर्छ। पारदर्शी, जिम्मेवार र सेवा प्रवाहमा कुनै समस्या नदेखिनेगरी काम गर्नुहोला’, सञ्चारमन्त्री डा तिमिल्सिनाले भने।
नेपाल टेलिकममा हुवावेको प्राविधिक सहयोग रहेको सन्दर्भमा उपभोक्ताबाट आउने गुनासो समाधानका लागि दुवै पक्षले समन्वयात्मक रुपमा काम गर्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए। ‘नेपाल टेलिकमको सेवाबारे नागरिकका धेरै गुनासो आइरहेका छन्। यदि प्राविधिक वा अन्य कुनै समस्या छन् भने टेलिकम र हुवावे समन्वयात्मक रुपमा तत्काल समाधान गर्नुपर्छ। नागरिकले गुणस्तरीय सेवा पाउने विषयमा सबै गम्भीर हुन जरुरी छ’ उनले भने।
सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आकांक्षालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।