काठमाडौं- देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा भारी वर्षा भएको छ।
गोरखामा ७१.८, मोरङमा ६१.८, सुनसरीमा ५१.४ र झापामा ७१.२ मिलिमिटर वर्षा भएको छ। यसअघि हिजो झापामा १०३ मिलिमिटरमाथि वर्षा भएको मापन गरिएको थियो।
उक्त जिल्लामा भारी वर्षा हुँदा देशका अन्य क्षेत्रमा तापक्रम बढिरहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभएको छ।
विभागका अनुसार पछिल्लो अभिलेखअनुसार भैरहवामा ४१.५ डिग्री तापक्रम मापन भएको छ। यस्तै नेपालगञ्जमा ४०.४ डिग्री तापक्रम भएको छ। धनगढीमा ३८.८ डिग्री तापक्रम रेकर्ड भएको छ।
अन्य जिल्लामा पनि तापक्रम बढेको छ। काठमाडौँमा पनि तापक्रम बढेर ३१.३ डिग्रीमा पुगेको छ।
मौसम विज्ञान विभागका सूचना अधिकारी कायस्थका अनुसार आज धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरामा तातो दिन हुने सम्भावना छ
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जनाइएको छ।
विभागले आज जारी गरेको मौसम बुलेटिनअनुसार आज देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा कोशी र मधेस प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
कोशी र मधेस प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जनाइएको छ।