बुधबार, असार ३, २०८३

सभामुख अर्याल र बङ्गलादेशका राजदूतबीच भेटवार्ता

 |  बुधबार, असार ३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०८३

काठमाडौं। सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानबीच भेटवार्ता भएको छ। उनीहरूबीच बुधबार सभामुख अर्यालको कार्यकक्षमा आज भेटवार्ता भएको हो। 

National life

सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताए।

सभामुख अर्यालले बङ्गलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा तथा देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गरे।

नेपालमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठन भइसकेको प्रसंग उल्लेख गर्दै उनले दुवै देशका सरकारबीचको सहकार्य थप सुदृढ भई द्विपक्षीय सम्बन्धका विविध आयामले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।

सभामुख अर्यालले बङ्गलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै नेपालको विकास यात्रामा बङ्गलादेशका असल अभ्यास उपयोगी हुन सक्ने धारणा राखे। उनले भने, 'नेपाल र बङ्गलादेशबीचको सहकार्यले दुवै देशका जनताको सुख, समृद्धि र कल्याणमा महत्त्वपूर्ण योगदान पुग्नेछ।'

Shivam cement

खेलकुद क्षेत्रमा बढ्दो सहकार्यले पनि दुई देशका जनताबीचको सम्बन्धलाई थप नजिक ल्याएको उल्लेख गर्दै सभामुख अर्यालले फुटबल, क्रिकेट, भलिबललगायत खेलमार्फत युवा पुस्ताबीच मित्रता, सम्पर्क र आपसी समझदारी अभिवृद्धि भएको बताए।

उनीहरूबीच शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विविध विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ।

राजदूत रहमानले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा नेपाल र बङ्गलादेशबीच विद्यमान सहकार्यलाई थप विस्तार गर्न बङ्गलादेश सरकार सकारात्मक रहेको बताए।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउँदै साझा हितका विषयहरूमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका सभामुखको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

प्रकाशित: Jun 17, 2026| 15:38 बुधबार, असार ३, २०८३
प्रतिक्रिया दिनुहोस्