धनगढी। सत्तारूढ दलभित्रै सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य लम्बिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट वक्तव्यका लागि आज बेलुका ५ बजे प्रदेश सभा बैठक आह्वान गरेको थियो। तर, सत्तारुढ दल नेकपा एमालेले बैठकमा उपस्थित हुन नसक्ने अडान राखेपछि प्रदेश सभा बैठक नै अनिश्चित बनेको छ।
नेकपा एमालेका प्रदेश सभा सदस्यले आफूहरूको प्रदेश सभामा सहभागी नहुने अडान कायमै रहेको बताए। मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीले योजना छनोटमा एकलौटी गरेको ती प्रदेश सभा सदस्यले बताए।
यद्यपि सहमतिको प्रयास भने जारी रहेको ती प्रदेश सभा सदस्यले बताए। सो विषयमा आर्थिक मामिला मन्त्री र उनको सचिवालयमा बुझ्न खोजे पनि सम्पर्क हुन सकेन।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ३८ अर्ब बराबरको बजेट ल्याउने अनुमान गरिएको छ। जुन बजेट सुदूरपश्चिम प्रदेश इतिहासकै ठूलो आकारको हुनेछ।
यसअघि सुदूरपश्चिम प्रदेशमा ३६ अर्बको बजेट प्रस्तुत भएको थियो। चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारले ३१ अर्ब बराबरको बजेट ल्याएको थियो।