सोमबार, असार १, २०८३

नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै

 |  सोमबार, असार १, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०८३

बाँके- अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा भूमिगत पानीको स्रोत जोगाउन ताल तलैयाको संरक्षण गर्नुपर्ने बेला यहाँका पुराना ऐतिहासिक तलाउहरू मासिने क्रम बढेको छ।

National life

नेपालगन्ज उपमहानगरपालिका–८ रङ्गशाला नजिकै रहेको ऐतिहासिक धोबीताल संरक्षणको अभावमा यति बेला सङ्कटमा परेको छ। कुनै समय नेपालगन्जका धोबी समुदायले कपडा धुने र स्थानीयले सिङ्गडाखेती गर्ने यो ताल पछिल्लो समय संरक्षण नहुँदा पुरिँदै गएको छ।

करिब ६ कट्ठा क्षेत्रफलमा फैलिएको यो तालमा पछिल्लो समय माटो पटान गर्ने र वडाभित्रको फोहर जम्मा गरेर थुपार्ने काम भइरहेको छ। तालमा फोहर थुपारिएपछि निस्किएको दुर्गन्धका कारण आसपासका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको स्थानीय उषाकुमारी खड्काले बताइन्।

“केही वर्षअघिसम्म तालभरि पानी भरिन्थ्यो, लुगा धुने, सिङ्गडाखेती गर्ने काम हुन्थ्यो”, खड्काले विगतलाई सम्झिँदै भनिन्, “अहिले तालको बिजोग भएको छ, घरै अगाडि रहेको तालमा फोहर फालेर दुर्गन्धले बस्नै कठिन भइरहेको छ।”

उपमहानगर र वडा कार्यालयले पटकपटक आग्रह गर्दा पनि फोहर फाल्ने काम नरोकिएको र घरभित्रै बस्न नसक्ने अवस्था आएको उनको गुनासो छ। तलाउलाई माटोले पुरेर अहिले तरकारी व्यापारीले मालवाहक साधन पार्किङस्थल बनाएका छन्।

Shivam cement

नेपालगन्जका अन्य वडामा पनि प्राकृतिक तालहरू मासेर भौतिक संरचना बनाउने कार्य भइरहेको छ। गगनगन्जको भगवान तलाउ मासेर स्वास्थ्यचौकी बनाइएको छ भने हनुमानगढी छेउको तलाउमा १०८ फिटे हनुमानको मूर्ति निर्माण भइरहेको छ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले प्राकृतिक तालतलैया संरक्षणमा आफूले ध्यान दिँदै आएको बताए। उनले धोबीताल नपुर्न र त्यहाँ फोहर नफाल्न वडा कार्यालयलाई निर्देशन दिएको बताउनुभयो। उहाँले स्थानीयको मागलाई कदर गर्दै आगामी आर्थिक वर्षको बजेटमा धोबीताल संरक्षणका लागि रकम व्यवस्था गर्ने आश्वासनसमेत दिएका छन्।

प्रकाशित: Jun 15, 2026| 07:16 सोमबार, असार १, २०८३
प्रतिक्रिया दिनुहोस्