काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँट गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ वटा स्टल बाँडफाँड गरिएको छ। यसमध्ये २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुई पांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान राखिने छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँट सम्पन्न हुनु प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिविम्ब भएको बताए। उनले उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिता र सहयोगले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित गर्दै विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको प्रदर्शनी अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।
स्टल बाँडफाँट कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले देशकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको नाइमा नेपाल मोबिलिटी एक्स्पोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको बताइन्। उनले एक्स्पोलाई केवल प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवद्र्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको उल्लेख गरन्।
प्रदर्शनीमा सहभागी चार पांग्रे सवारी ब्रान्डहरूमा आर्कफक्स , बीएआईसी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, होनरी बोमा, हुन्डाई, आईकार, काई, किया, लिपमोटर, महिन्द्रा, म्याक्सस, एमजी जीओ अटोमोबाइल्स, एमजी पारामाउन्ट मोटर्स, निसान, ओमोडा एन्ड जेइको, प्युजो, प्रोटोन, टाटा, टोयोटा, विलिङ र जिकरलगायत छन्।
त्यस्तै दुई पांग्रेतार्फ, एथर, बजाज, सीएफमोटो, जीहो, गारो, होन्डा, केरेन, केटीएम, मर्बिडेली, उनआईयू, प्युजो, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभोइलेट, याडिया, एक्सजेड मोटो र व्यावसायिक सवारीसाधन ब्रान्डहरूमा चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ रहेका छन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन गरिनेछन्। एक्स्पोमा अग्रणी ब्रान्डहरूको सहभागिता, नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा समानान्तर ज्ञानमूलक सत्रहरू समावेश हुनेछन्।
यसले उपभोक्ता, व्यवसायी तथा उद्योगका सरोकारवालाहरूलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई नजिकबाट चिन्ने अवसर प्रदान गर्नेछ। नाइमा नेपालका मोबिलिटी तथा अटोमोबाइल क्षेत्रको प्रतिनिधि संस्था हो, जसले ‘मोबिलिटी फर अल’ को अवधारणालाई अघि बढाउँदै उद्योग विकास, नवप्रवर्तन प्रवद्र्धन तथा नीतिगत सहकार्यका लागि साझा मञ्चका रूपमा कार्य गर्दै आएको छ।