काठमाडौं। जिल्ला अदालत ललितपुरले टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। बिहीबार ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
सरकारी वकिलको तर्फबाट तीन जनाले जवाफी बहस गरेका थिए भने प्रतिवादी अधिकारीको तर्फबाट ८ जना कानुन व्यवसायीले बहस गरेका थिए।
टिकटकमार्फत चर्चामा आएकी अधिकारीलाई प्रहरीले इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर अदालतमा पेस गरेको थियो। अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), सुनवल नगरपालिका–६ स्थायी ठेगाना भएकी अधिकारीलाई ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएकाे थियाे।
उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी मुद्दा दायर भएको थियो। अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए।