शनिबार, जेठ ९, २०८३

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

 |  शुक्रबार, जेठ ८, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ८, २०८३

महोत्तरी। बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर दूध सङ्कलन गर्न थालेपछि यहाँका किसान उत्साहित भएका छन्। किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित हुनुका साथै अनुदान पनि प्राप्त गर्ने भएका छन्।

National life

सहकारी संस्थाले घरघरबाटै सङ्कलन गर्ने दूधको मासिक भुक्तानीसँगै नगर कार्यपालिकाको कार्यालयले प्रतिलिटर दुई रूपैयाँ अनुदान दिएपछि किसान मख्ख छन्। “दूधका लागि पशुपालन गर्न घाँस र चरनको सुविधा भए पनि बजार सुनिश्चित नहुँदा हैरानी थियो”, बर्दिबास–३ कालापानीका किसान बालकिशोर रायमाझी भन्छन्, “अब त नगर कार्यपालिकाको कार्यालयकै रोहबरमा संस्थाले दूध लिने व्यवस्था भयो, यसले धेरै सजिलो भएको छ।” संस्थाले गत वैशाखको तेस्रो सातादेखि घरघरमै पुगेर दूध सङ्कलन थालेको हो।

यसअघि होटल तथा चिया पसलमा दूध दिएर भुक्तानी लिन सास्ती व्यहोरेका किसान अहिले महिना अन्त्य हुनबित्तिक्कै संस्थामै खोलिएको खातामा एकमुष्ट रकम जम्मा हुने व्यवस्थाले दङ्ग छन्। “न दूध पुर्याउन जाने झन्झट, न भुक्तानीमा कचकच”, बर्दिबास–६ किसाननगरका किसान राजबाबु महतो भन्छन्, “यो टिकाउ भइदिए हुन्थ्यो।” संस्थागत काम हुँदा यो टिकाउ हुने किसानको आस छ।

संस्थाले दूध उत्पादक किसानलाई अनिवार्य सेयर सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ। यसले संस्थाको गतिविधिमा किसानको नियमित रेखदेख पुग्ने र अपनत्व बढ्ने विश्वास लिइएको छ। त्यसैगरी, बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नै पाँच लाख रकमको सेयर सदस्यता लिनसँगै दूध सङ्कलन, भण्डारण र वितरण व्यवस्था प्रयोजनका सामग्रीसमेत उपलब्ध गराएको छ।

“किसान सहकारी संस्थालाई वास्तविक किसानसँग जोडेर सुदृढ गराइन पहलकदमी लिइएको हो”, बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्री भन्छन्, “यसले किसान लाभान्वित हुने विश्वास लिएका छौँ।” पाँच दशकअघि स्थापित साझा संस्थालाई क्रियाशील बनाएर किसानसँग जोड्न किसान सहकारी संस्थामा परिवर्तित गरिएको हो।

Shivam cement

सहकारी संस्थालाई सुदृढ बनाइँदै पशुपालन र दूध उत्पादनलाई टेवा पुर्याउन र यो व्यवसायलाई प्रवर्द्धन गर्न नगर कार्यपालिकाले संस्थागत प्रयत्न थालेको क्षेत्रीको भनाइ छ। “अहिले पशुपालन र दूध उत्पादक किसानलाई प्रत्यक्ष लाभ र हौसला हुनेगरी अनुदानको व्यवस्था गरिएको छ”, उनी भन्छन्, “नगरपालिका किसानका सबै उत्पादनको बजार सुनिश्चित गर्न लागिपरेको छ।”

संस्थाले अहिले किसान सरोकारका दुईवटा कार्यक्रम सञ्चालनमा ल्याएको छ। दूध सङ्कलन र बेसारखेती प्रवर्द्धन। यी दुवै कार्यक्रममा बर्दिबास नगर कार्यपालिकाको कार्यालयको साथ पाइएको संस्थाका अध्यक्ष भानुभक्त पोखरेल बताउनुहुन्छ। दूध सङ्कलन बर्दिबास नगर क्षेत्रका १४ वटै वडाका घरघरबाट गरिने संस्थाले जनाएको छ।

“अहिले दूध सङ्कलन ३०० लिटरको नजिक छ, हामी यसलाई केही महिनाभित्रै ५०० लिटर नघाउने योजनामा छौँ”, अध्यक्ष पोखरेल भन्छन्, “हामीकहाँ (संस्थामा) दूध र दूधका परिकारको माग उच्च छ।” अहिले दूधका विभिन्न परिकार (पनिर, खुवा, दही, दूध, घिउ) बनाएर उपभोक्तालाई सुलभ मूल्यमा वितरण भइरहेको उनले बताए।

यो व्यवस्थाले दूध उत्पादन प्रयोजनले पशुपालन गर्ने किसान उत्साहित भएका छन्। किसान अब दुधालु गाईभैँसी थप्ने योजनामा छन्। बर्दिबास जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको स्थानीय तह हो। यहाँ पोसिलो घाँस पाइने र चरन क्षेत्र पनि हुँदा वस्तुपालन सहज हुने बर्दिबास–१४ का रामकुमार अधिकारी बताउँछन्।

त्यसैगरी, संस्थाले बेसारखेतीको अवधारणा पनि बढाएको छ। प्राङ्गारिक विधिबाट बेसारखेती गरिन सहकारीमार्फत बीउ किन्न सहुलियत दिने र उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने जिम्मा नगर कार्यपालिका कार्यालयले लिएको सहकारीका अध्यक्ष पोखरेलले बताए। दूध र बेसारखेतीको उत्पादनमा बिचौलियाको चलखेल नरहनेगरी सोझै किसानलाई लाभान्वित बनाउन यो कार्यक्रमले सघाउ पुर्याउने अपेक्षा गरिएको छ।

बेसारखेती गर्ने किसानलाई बीउ खरिदका लागि निब्र्याजी ऋणको व्यवस्था गरिएको संस्थाले जनाएको छ। यसपालि ३० बिघा जति बेसारखेती गर्ने किसानले कवुलियत गरेका अध्यक्ष पोखरेलले जानकारी दिए।

संस्थाले थालेको दूध सङ्कलन र बेसारखेतीको कार्यक्रमले सामूहिक लगानी र सहकार्य बढाउनसँगै किसानको उत्पादनको बजार सुनिश्चित गरेको छ। बर्दिबास पशुपालन र बेसारखेती दुवैका लागि उर्वर थलो मानिन्छ। यो कार्यक्रममले अब आफ्नो उत्पादनको बजार र मूल्य सुनिश्चित गर्नसँगै समयमै उत्पादनको रकम पाउने विश्वास किसानले लिएका छन्। रासस

प्रकाशित: May 22, 2026| 15:30 शुक्रबार, जेठ ८, २०८३
प्रतिक्रिया दिनुहोस्