आइतबार, वैशाख २७, २०८३

मह काढ्ने परम्परा जीवन्त राख्न पुस्ता हस्तान्तरण

 |  आइतबार, वैशाख २७, २०८३

नवीन लामिछाने

नवीन लामिछाने

आइतबार, वैशाख २७, २०८३

मनाङ। विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ। जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ। यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ।

National life

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गर्दछन्।

यस कार्यले यहाँका स्थानीयका साथै पर्यटकलाई पनि आकर्षित गरेको छ। गाउँको पुर्ख्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिनेगरी भिर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएको स्थानीय बताउँछन्।

स्थानीयले भिर मौरीको मह काढ्ने परम्परालाई निरन्तरता दिँदै आएका सिकारी टेकबहादुर गुरुङ बताउँछन्। विगतमा ज्येष्ठ नागरिकको मात्रै सहभागिता रहने मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिइएको उनी बताउँछन्।

‘भिर मौरीको मह औषधिका रूपमा प्रयोग हुन्छ। औषधिका रूपमा उपयोग गर्न जोखिम मोलेर भिरबाट मह काढ्ने गरेका छौं’, गुरुङ भन्छन्, ‘भिर मौरीको महको माग पनि बढी छ।’ वर्षमा दुईपटक मह काढ्ने गरिएको उनी बताउँछन्।

गुरुङ भन्छन्, ‘पहिलो चरणमा मह वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र निकाल्नुपर्ने हुन्छ भने दोस्रो चरणमा असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातामा निकालिसक्नुपर्छ। शुक्रबारमात्रै मह काढ्ने चलन छ।’ मह धेरै भएको समयमा भने दुई दिन लगाएर मह निकाल्ने गरिएको उनी बताउँछन्।

मौरीको सिकार गर्न तिथिमिति जुराएर जङ्गलबाट निगालो ल्याउने र चोया बनाई लठ्ठा बनाउने गरिन्छ। आगोमा तताउँदै लठ्ठाबाट गाउँले मिलेर भर्याङ बनाउने गर्दछन्। एकपटक बनाइएको भर्याङ तीनचार वर्षसम्म उपयोग गर्न सकिन्छ।

यसरी बनाइएको भर्याङ मह निकाल्न (काढ्न) गाउँले एकसाथ भिरमा मह सिकारका लागि जाने गर्दछन्। विश्वकै साहसिक पेसाका रूपमा परिचय बनाएकाले मह सिकार हेर्न विदेशी पर्यटकको आकर्षण बढ्दै जानुका साथै यस गाउँको आयआर्जनको माध्यम बनेको सिकारी मीनबहादुर गुरुङ बताउँछन्।

‘पहिलापहिला त मुखमात्रै छोपेर मह निकालिन्थ्यो, अहिले त शरीर पूर्ण रूपमा छोपेर मह निकाल्ने गरेका छौं’, उनी भन्छन् , ‘यसले जोखिमबाट जोगाएको छ।’

मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्छ भने बढी चिलेमा मानिसको ज्यानै जानसक्ने जोखिम हुने गुरुङ बताउनुहुन्छ। पहिलेदेखि नै औषधिका रूपमा प्रयोग गरिँदै आएको भिर मौरीको मह स्थानीयकै घरमा सीमित हुने गर्दथ्यो।

मानवीय विकाससँगै पहिरनमा परिवर्तन हुँदै जाँदा शरीरमा पूरा कपडाले ढाकिने चलन बढ्नुका साथै सुरक्षित तवरबाट मह सिकारमा पनि सहज हुँदै गएको स्थानीयको भनाइ छ। पहिले स्थानीयको सहभागितामा मात्रै निकालिने मह अहिले विदेशीको आकर्षण बढ्दै गएको गुरुङ बताउँछन्।

हाल भिर मौरीको मह सिकार गरेको हेर्न विदेशी आउने गरेको स्थानीय बताउँछन्। पर्यटकलाई आकषित गर्दै प्राकृतिक र साहसिक कार्यलाई जीवन्त राख्न निरन्तरता दिनुपर्ने टर्कीका नागरिक केमल बताउँछन्। ‘यस्तो चिल्ने मौरीको मह सिकार जोखिमयुक्त छ। तर, यहाँका स्थानीयको साहसिकताले लोभ्यायो’, उनी भन्छन्, ‘प्राकृतिक जोखिम मोलेजस्तै यसलाई आयआर्जनसँग जोड्न सक्नुपर्छ।’

आश्चर्यचकित पार्नेगरी स्थानीयले मह निकालेको देख्दा डर लागेको केमल बताउँछन्। ‘म त निकालेको महमा केही मौरी बसेको देख्दा पनि डराएको थिएँ। नेपाली साहसी छन्, नेपालीका बारेमा जुन बयान सुनिएको थियो त्यो आफ्नै आँखाले देख्न पाइयो’, उनी भने।

भिर मौरीको मह काढ्ने परम्परामात्रै नभएर मह औषधिजन्य भएकाले अझ माग बढी हुने गरेको छ। त्यसैले यसलाई निरन्तरता दिन आवश्यक छ।

प्राकृतिक उपजका रूपमा विकास गर्दै आयआर्जनको माध्यम बनाउन संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अवस्था देखिन्छ। यस परम्परालाई जीवन्त राख्दै विदेशीको आकर्षणको केन्द्र बनाउने प्रयासमा सबैको ध्यान जानुपर्ने हुन्छ।

प्रकाशित: May 10, 2026| 11:14 आइतबार, वैशाख २७, २०८३
प्रतिक्रिया दिनुहोस्