मंगलबार, वैशाख ८, २०८३

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि...

 |  मंगलबार, वैशाख ८, २०८३

सुशील भण्डारी

सुशील भण्डारी

मंगलबार, वैशाख ८, २०८३

अछाम। कुरा यही वैशाख ३ गतेको हो। यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुगेका थिए।

National life

आफ्नै काठे डुङ्गा लिएर घाँस काट्न गएका उनीहरूमध्ये जेठो छोरा १४ वर्षीय दिलीपले आफूभन्दा पहिले पालैपालो बुबा र भाइलाई पारि पठाएका थिए। अन्तिममा आफू तरे। नदी तरिसकेपछि पहलसिंहले कर्णाली नदीमा जाल थापे। त्यसपछि तीनै जनाले घाँस काटे। तीन भारी घाँस काटिसकेपछि साँझपख जेठो छोरा दिलीपले डुङ्गामा पालैपालो तीनै भारी घाँस तारे।

घाँस तारेर बुबा र भाइ लिन दिलीप डुङ्गा लिएर पुनः कर्णाली पारि पुपे। साँझ झमक्क परिसकेको थियो। दिलीपले बुबालाई पालैपालो डुङ्गामा पारी पुर्‍याउने प्रस्ताव गरे। तर पहलसिंहले दिलीपलाई भने, “छोरा घाँस तार्दातार्दा तिमीलाई थकाइ पनि लागेको छ। रात परिसक्यो सबै जनासँगै जाऔँ”, दिलीपले ‘हुन्न त्यसरी नजाउँ’ पनि भने, तर बुबाले मानेनन्।

नभन्दै नदीको बिच भागमा पुगेपछि डुङ्गा पल्टियो। डुङ्गा पल्टिनेबित्तिकै दिलीप पौडी खेल्दै जसोतसो नदी किनारमा निस्किए। रुँदै, गुहार्दै वरपरका मान्छेलाई खबर गरे। डुङ्गा पल्टिएर उल्टो भएपछि ११ वर्षका भाइ नरेश डु¬ङ्गामै च्यापिए। पहलसिंहले कान्छो नरेशलाई बचाउन च्यापिएका ठाउँबाट निकालेर पिठ्युँमा बोके। अनि नदी पार गर्न पौडिन थाले। नदी पार गर्ने बेलामा पानीको बहावसँगै दुवै जना बेपत्ता भए। त्यस रातभरि परिवार र स्थानीय खोजीमा जुटे। कतै फेला परेनन्।

सशस्त्र प्रहरी बल खप्तड गुल्मको विपद् उद्धार टोली, सुर्खेतबाट आएको गोताखोरको टोली, स्थानीय बासिन्दा र नेपाल प्रहरीको संयुक्त प्रयासमा निरन्तर खोजी गर्दा कर्णाली नदीको खोँचमा वैशाख ५ गते छोरा नरेश र ६ गते बुबा पहलसिंहको शव फेला पर्‍याे।

kumari

बाबुछोराकै निधनपछि अहिले पहलसिंहको परिवारमात्रै होइन, पूरै गाउँ शोकमा छ। पहलसिंहको परिवारको मुख्य पेसा कृषि थियो। कर्णाली नदी किनारमा बसोबास गर्ने भएकाले उनीहरूको दैनिक जीवनयापन नदीमा माछा मार्ने र पशुपालन थियो। जेठो दिलीप बसुन्धरा मावि थालपाटामा कक्षा ८ मा अध्यनरत थिए।

कान्छो नरेश भने कक्षा ४ मा अध्यनरत थिए। श्रीमान् र नाबालक छोराको निधनपछि पहलसिंहकी ३३ वर्षीया श्रीमती शान्तिकुमारी माझी (बुढा) अझै राम्रोसँग होसमा आएकी छैनन्। श्रीमान्‌काे भरमा चलेको परिवारमा श्रीमान् नै नभएपछि कसरी जीविका चलाउने भन्ने चिन्ता थपिएको छ।

पुल नहुँदा वारपार गर्न जोखिम

यस स्थानमा हालसम्म एउटा झोलुङ्गे पुलसम्म छैन। जसका कारण घरायसी कामकाजकै लागि वारपार गर्न ज्यान जोखिममा हिँड्नुपर्ने बाध्यता छ।

कर्णाली नदीले घेरिएको यो ठाउँमा झोलुङ्गे पुल निर्माण गरिदिन पटकपटक आवाज उठाउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीय दुर्गबहादुर बिसीले गुनासो गरे। अछामतर्फ बढी सुक्खा क्षेत्र भएकाले घाँस ल्याउन सुर्खेततर्फ जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ। “घाँसको भारी कर्णाली पार गर्दै ल्याउनुपर्छ, कतिखेर के हुन्छ थाहै हुँदैन”, उनले भने।

प्रकाशित: Apr 21, 2026| 15:11 मंगलबार, वैशाख ८, २०८३
प्रतिक्रिया दिनुहोस्