सोमबार, वैशाख ७, २०८३

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

 |  सोमबार, वैशाख ७, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ७, २०८३

म्याग्दी। बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माण गर्न थालिएको छ। 

National life

समुदाय, दाता र सरकारी निकायको साझेदारीमा यहाँ रु एक करोडभन्दा बढी लगानीमा आश्रयस्थल, गौशाला, सभाहल, गोवर्धन मन्दिर, पदमार्गलगायत पूर्वाधार निर्माण भइरहेका हुन्।  

यसअघि सञ्चालन गरिएको गोवर्धन महायज्ञमा सङ्कलन भएको सहयोग रकम र बेनी नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणकार्य अन्तिम चरण रहेको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले जानकारी दिए। 

“गौशालामा रहेका रैथाने जातका गाईको चरन र आहराका लागि घाँसखेती गर्न तथा पूर्वाधार बनाउन ४० रोपनी जग्गासहित रु एक करोड २७ लाख ३१ हजार ३६७ सङ्कलन भएको थियो”, उनले भने, “त्यसबाट गौशाला सुरु गरिएको छ। सभाहल र सन्तआश्रम ढलान भइसकेको छ भने मन्दिर निर्माण अन्तिम चरणमा पुुगेको छ।”

स्थानीय दीपक मल्लले सबैभन्दा बढी १७ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो। यहाँ श्रीकृष्णले गोवर्धन पर्वत उठाएको मूर्तिसहितको मन्दिरको संरचना तयार भएको छ भने ३८ फिट अग्लो तामाको छाना राखिएको मन्दिरमा पलास्टर, रङ्गरोगन, विद्युुत् जडान र मूर्ति राख्न बाँकी छ। 

kumari

वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार रु ८५ लाख लागत अनुुमान गरिएको मन्दिर निर्माणका लागि हालसम्म दाताबाट प्राप्त भएको रु ७५ लाख खर्च भएको छ। बेनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु १५ लाखबाट नौ लाखमा सभाहल र सन्तआश्रमको भूइँ ढलान सकिएको बताउनुभयो। यस्तै, रु छ लाखमा भकुण्डे–गौस्वारा सडकको दोयडाडादेखि गौशाला जोड्ने एक सय ४० मिटर लामो पदमार्ग निर्माणको तयारी गरिएको छ। यहाँ एउटा आश्रयस्थल भवन निर्माण भइसकेको छ। 

बागलुुङको पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न अगुवाई गर्नुभएका मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको परिकल्पनाअनुसार यहाँ गौस्वारामा धार्मिक पूर्वाधार निर्माण गर्न थालिएको हो। 

समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको गौस्वाराको पृष्ठभूमिमा हिमशृङ्खला छन्। यहाँबाट परापूर्वकालमा ऋषीमुनिहरूको तपोभूमि पौलत्स्य, गलेश्वर, हम्पाल देखिन्छ भने म्याग्दी, पर्वत र बागलुङको ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ। यस्तै, धौलागिरि, गुर्जा, अन्नपूर्ण र माछापुच्छ«े हिमाल अवलोकन गर्न पाउनु यहाँको आकर्षण हो। 

महायज्ञ आयोजक समितिका सदस्य दिर्घप्रसाद रिजालले गौस्वारामा आयुर्वेद औषधीय हिसाबले महत्त्वपूर्ण स्थानीय रैथाने गाई संरक्षण गर्न गौशाला सञ्चालन गरी गहुँत र गोवरको उपयोग गर्ने योजना रहेको बताए। यहाँ नजिकैको जङ्गलमा धेरै प्रकारका जडिबुटी पाइने भएकाले तिनको अनुसन्धान गरी प्रयोगमा ल्याउन अनुसन्धान केन्द्रका रूपमा काम गर्नेसमेत उद्देश्य रहेको उनले जानकारी दिए।

प्रकाशित: Apr 20, 2026| 21:24 सोमबार, वैशाख ७, २०८३
प्रतिक्रिया दिनुहोस्