काठमाडौं- कुमारी बैंक लिमिटेडले विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गर्दै संस्थाको सफलतामा उनीहरूको योगदान महत्त्वपूर्ण रहेको जनाएको छ।
साथै, उत्कृष्ट बैंकिङ सेवा र वित्तीय सुविधा प्रदान गर्दै देशकै अग्रणी बैंक बन्ने आफ्नो लक्ष्यप्रति बैंक प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
यस अवसरमा बैंकले काठमाडौं, ललितपुर, भक्तपुरसहित देशभरका विभिन्न प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममार्फत स्थानीय रक्त बैंकको आवश्यकता पूरा गर्नुका साथै जीवन बचाउने अभियानमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
सांस्कृतिक पक्षलाई पनि प्राथमिकता दिँदै बैंकले ‘परम्परागत भेषभूषा’ कार्यक्रम सञ्चालन गरेको छ, जसमा कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने पोशाकमा सहभागी भएका थिए। यसले संस्थाभित्र विविधता, समावेशिता र आपसी सम्मानको भावना सुदृढ बनाउन सहयोग पुगेको बैंकले जनाएको छ।
त्यसैगरी, ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको सुरुआत गर्दै बैंकले देशभर सामाजिक उत्तरदायित्वका गतिविधिहरू विस्तार गर्ने योजना अघि सारेको छ। यस कार्यक्रममार्फत विपन्न तथा पछाडि परेका समुदायको जीवनस्तर सुधारमा सहयोग पुर्याइने जनाइएको छ। रजत जयन्तीकै अवसरमा बैंकले 'सिल्भर सेभिङ्स' बचत खाता पनि सार्वजनिक गरेको छ, जसमा बचत खातामै मुद्दती खाताजस्तै ब्याजदर उपलब्ध हुने व्यवस्था गरिएको छ।
पछिल्लो २५ वर्षदेखि निरन्तर सेवा दिँदै आएको बैंकले देशभर फैलिएको २८६ शाखा, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत ३० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। आगामी दिनमा पनि अझ सहज, सुलभ र प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।