आइतबार, चैत २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशिएका नेपालीले ८ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

विदेशिएका नेपालीले ८ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

 |  शुक्रबार, चैत २०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०८२

काठमाडौं- चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन्।

National life

नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो। गत फागुनमा विप्रेषण आप्रवाह रु एक खर्ब ८८ अर्ब ६४ करोड रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ५१ अर्ब १९ करोडबराबर थियो। सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई रु १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार ९८५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो।

kumari

त्यस्तै, समीक्षा अवधिमा चालु खाता रु पाँच खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु एक अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु तीन अर्ब ८८ करोडले बचतमा रहेको छ।

यस्तै, फागुन मसान्तस्म्म रु १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु आठ अर्ब ४७ करोड रहेको थियो।

सो अवधिमा शोधनान्तर स्थिति रु छ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो।

प्रकाशित: Apr 03, 2026| 07:31 शुक्रबार, चैत २०, २०८२
प्रतिक्रिया दिनुहोस्