काठमाडौं- यामाहा नेपालले हालै सार्वजनिक गरेको देशकै पहिलो हाइब्रिड मोटरसाइकल'FZS FI Hybrid' बजारमा आएको एक हप्तामै सबै युनिट बिक्री भएको छ। नयाँ प्रविधि र उच्च माइलेजप्रतिको आकर्षणका कारण उपलब्ध स्टक छोटो समयमै सकिएको कम्पनीले जनाएको छ।
FZ सिरिजको विरासतमा आधारित यस मोडललाई कम्पनीले सुधारिएको इन्धन दक्षता, शक्तिशाली प्रदर्शन र न्यून उत्सर्जनका लागि डिजाइन गरेको छ। सहरी ट्राफिक र बढ्दो इन्धन मूल्यको चुनौतीलाई सम्बोधन गर्ने गरी ल्याइएको मोटरसाइकलले बजारमा राम्रो प्रभाव देखिएको छ।
पहिलो ब्याचको सफलतापछि यामाहा नेपालले अर्को ब्याचका लागि आधिकारिक रूपमा प्रि-बुकिङ खुला गरेको छ। इच्छुकले देशभरका आधिकारिक डिलर वा कम्पनीको सामाजिक सञ्जालमार्फत बुकिङ गर्न सक्नेछन्। मागलाई ध्यानमा राख्दै नयाँ स्टक छिट्टै उपलब्ध गराउने र समयमै डेलिभरी सुनिश्चित गर्ने कम्पनीको योजना छ।
यस उपलब्धिबारे बोल्दै यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले भने, 'प्रविधि र माइलेजको महत्त्व बढिरहेको वर्तमान समयमा प्राप्त प्रतिक्रिया उत्साहजनक छ। यसले यामाहाको उत्पादनप्रतिको विश्वासलाई प्रतिबिम्बित गर्दछ।'
उनले नेपाली राइडरहरूको आवश्यकता अनुसार नवीन यातायातका साधन ल्याउन कम्पनी प्रतिबद्ध रहने समेत बताए।