काठमाडौं – पछिल्लो समय नेपाली चलचित्र जगत्मा पुराना पुस्ताका नायकभन्दा नयाँ अनुहार चलेका छन्। नेपाली चलचित्रको पछिल्लो फस्टाउँदो व्यापारसँगै केही नयाँ अनुहारले राम्रै सफलता हासिल गरिरहेका छन्। उनीहरुले सफलता हासिल गर्ने मात्र होइन राम्रो पारिश्रमिक पनि लिइरहेका छन्। उनीहरुको अभिनयलाई दर्शकले राम्रै रुचाएका छन्।
अहिले नेपाली फिल्मको लोकप्रियता बढ्दो छ। नेपाली फिल्मको बजार राम्रो बन्दै गएको कुरा पछिल्लो पुस्ताका नायकनायिकाहरुले लिने पारिश्रमिकबाट पनि थाहा हुन्छ। पुरानै कथावस्तु र पुरानै अभिनयबाट वाक्क बनेका नेपाली दर्शक पछिल्लो समय आएका कलाकारहरुले दिएको अभिनयको नयाँ स्वाद र नयाँ कथावस्तुका कारण हलसम्म पुग्ने गरेका छन्। उनीहरुले नयाँ स्वाद दिन सकेकै कारण नेपाली फिल्मको बजार राम्रो बन्दै गएको हो।
अनमोल केसी
सुपरस्टार भुवन केसीका छोरा अनमोल केसी पछिल्लो समयका नेपालका चर्चित नायक हुन्। हेमराज बिसीको चलचित्र ‘होस्टेल’ मार्फत नेपाली फिल्ममा डेब्यु गरेका अनमोल पछिल्लो समय सर्वाधिक रुचाइएका नायकभित्र पर्छन्। पहिलो फिल्मबाटै दर्शकलाई तान्न सफल अनमोलले छोटो समयमा राम्रो प्रगति हासिल गरे। उनी अहिले दर्शकको मनमा बस्न मात्र सफल भएका छैनन्, देशकै महँगो नायक पनि हुन सफल भएका छन्। स्रोतका अनुसार अहिले अनमोलले झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’ का लागि ३५ देखि ४० लाख लिएका छन्।
प्रदीप खड्का
रियालिटी सो ‘खोजी प्रतिभाको’ मार्फत नायक प्रदीप खड्का अभिनय दुनियाँमा आएका हुन्। ‘इस्केप’ बाट नेपाली फिल्ममा डेब्यु गरेका उनको उचाइ ‘प्रेमगीत’ ले बढाएको हो। प्रेमगीतको सफलतापछि उनले फर्केर हेर्नुपरेन। त्यसपछि उनलाई सफलता नै सफलता हात लाग्यो। ‘रोजी’ फिल्ममा २५ लाखमा काम गरेका प्रदीपले अहिले ‘लभ स्टेसन’ मा मोटै रकममा काम गरिरहेको बताइएको छ। उनले अहिले एउटा फिल्मको २५ देखि ३० लाख लिने गरेका छन्।
पल शाह
पश शाह फिल्म खेल्नुअगाडि भिजुअल इडिटर थिए। उनी भिडियो अडिट गर्दा गर्दै फिल्म खेल्न आइपुगेका हुन्। विकास आचार्यले ‘नाइँ नभन्नु ल ४’ बाट फिल्ममा डेब्यु गरेका पललाई पहिलो फिल्मबाट सफलता हात लाग्यो। त्यसपछि उनले सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा अभिनय गरे। त्यसबाट पनि उनलाई राम्रै सफलता हात लाग्यो। यतिबेला पल नयाँ फिल्म ‘हृदयभरि’ खेल्ने तयारीमा छन्। यसमा पनि उनले राम्रो पारिश्रममा काम गर्ने बताइएको छ। यतिबेला पलले १५–२० लाखसम्म पारिश्रमिक लिने गरेका छन्।
दयाहाङ राई
भोजपुरका दयाहाङ राईले रंगमञ्चबाट नेपाली फिल्ममा डेब्यु गरेका हुन्। दयाहाङमा जीवन्त अभिनय गर्न सक्ने क्षमता छ। फिल्म ‘अनागरिक’ बाट चलचित्रमा डेब्यु गरेका दयाले फिल्म पछिल्लो समय फरक धारको अभिनय क्षेमता देखाएर दर्शकको मन जितेका छन्। स्रोतका अनुसार उनले अहिले एउटा फिल्मको १० देखि १५ लाख पारिश्रमिक लिने गरेका छन्।
सौगात मल्ल
सौगात मल्ल पनि रंगमञ्चबाट नेपाली फिल्ममा आएका कलाकार हुन्। सौगातले नेपाली चलचित्र कागबेनीबाट नेपाली फिल्ममा डेब्यु गरेका हुन्। कागबेनीबाट चलचित्रमा डेब्यु गरे पनि उनलाई सन् २०१२ निर्माण गरिएको फिल्म ‘लुट’ ले फरक परिचय बनाइदियो। ‘लुट’मा हाकु कालेको भूमिकाबाट ख्याति कमाएका सौगातले पनि जीवन्त अभिनय गर्ने गरेका छन्। उनको त्यही जीवन्त अभिनयले सौगातलाई दर्शकले रुचाउने गरेका छन्। सौगातले पनि पछिल्लो समय एउटा फिल्मको १० देखि १५ लाखसम्म लिने गरेका छन्।
विपिन कार्की
विपिन कार्की पनि पछिल्लो समय राम्रै चलेका अभिनेता हुन्। विपिनले पनि नेपाली फिल्ममा रंगमञ्चबाट प्रवेश गरेका हुन्। उनको अभिनयलाई पनि दर्शकले जीवन्त अभिनय भन्दै तारिफ गर्ने गरेका छन्। उनले अनुहारभन्दा अभिनयले दर्शकको मन जित्न सकिन्छ भन्ने कुरा आफ्नो अभिनयमार्फत पुष्टि गरिदिएका छन्। ‘पशुपतिप्रसाद’ र ‘जात्रा’बाट चर्चामा आएका विपिनले पछिल्लो फिल्म ‘प्रसाद’बाट १५ लाख रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४