काठमाडौं-आकार फाउन्डेशनले आज ललितपुर महानगरपालिकामा एक विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै कला प्रदर्शनीका क्रममा चित्रकला बिक्री गर्न सफल अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान गरेको छ। कार्यक्रममा सहभागी कलाकारहरूको सृजनशीलता, मेहनत र उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समावेशी कलामा उनीहरूको योगदानलाई कदर गरिएको हो।
कार्यक्रमका क्रममा चित्रकला बिक्री भएका कलाकारहरूले आफ्ना चित्रकला बिक्रीबाट प्राप्त पहिलो आम्दानी ग्रहण गरेका थिए, जसले उनीहरूको सृजनात्मक यात्रामा एक महत्वपूर्ण कोशेढुंगा कायम गरेको छ। आर्थिक सहयोगसँगै प्रत्येक सहभागीलाई सम्मान र प्रोत्साहनस्वरूप प्रशंसापत्र पनि प्रदान गरिएको थियो। ललितपुर महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईंले कलाकारहरूलाई पुरस्कार प्रदान गर्दै उनीहरूको मौलिकता, समर्पण र कलात्मक अभिव्यक्तिको प्रशंसा गर्नुभयो। साथै, यस प्रयासलाई सफल बनाउन सहयोग गर्ने स्वयंसेवकहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।
आकार फाउन्डेशन र ललितपुर महानगरपालिकाको अपाङ्गता भएका व्यक्तिहरूलाई अर्थपूर्ण अवसर मार्फत सशक्त बनाउने साझा प्रतिबद्धता अनुरुप यो कार्यक्रम गरिएको थियो। सहभागीहरूलाई कलात्मक सीपका लागि मात्र नभई कला मार्फत् आफ्नो अभिव्यक्ति प्रस्तुत गर्ने आत्मविश्वास र दृढताका लागि पनि हार्दिकतापुर्वक सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै आकार फाउन्डेशनका प्रतिनिधिहरूले अपाङ्गता भएका कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र सृजनशीलताबाट आर्थिक लाभ लिन सक्ने समावेशी मञ्चहरूको महत्त्वमा जोड दिनुभयो। उहाँहरूले यस्ता कदमले आत्मसम्मान वृद्धि गर्ने, सामाजिक समावेशिता प्रवर्द्धन गर्ने र समुदायको व्यापक सहभागिता बढाउने कुरा उल्लेख गर्नुभयो।
ललितपुर महानगरपालिका र आकार फाउन्डेशनबीचको सहकार्यले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र योगदानलाई मूल्याङ्कन गर्ने अवसरहरू निरन्तर सिर्जना गर्दै आएको छ।