काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिकाले अमेरिकामा रहँदा पनि आफू निरन्तर लेखनमा रहेको बताएकी छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले आफ्नो देश र सन्तुष्टिको लागि योगदान दिनसक्ने क्षेत्र लेखन भएकाले आफू यसैमा सक्रिय रहेको बताइन्।
उनले आफूलाई मिठो खाने कुराको रुपमा पुस्तकरुपी खुराक नै हुने गरेको बताएकी छन्। 'म आफ्नो लागि र साथीहरूको अमेरिका जाँदा कोसेलीको रुपमा पुस्तक लग्छु। मेरो झोलामा खाने कुरा हुँदैन। त्यसैले मेरा लागि मिठो खाने कुरा पुस्तक हुन्', उनले भनिन्।
उनले योगमाया लेख्दाको अनुभव सुनाउँदै व्यक्ति भेट्दा थुप्रै समय खर्चिनु परेको बताइन्। त्यसरी मान्छेहरूसँग भेटिरहँदा पनि आफूलाई आवस्यक पर्ने सामग्री भेटाउन निकै गाह्रो भएको उनले बताइन्। 'पाल्पामा जन्मेको मान्छेले भोजपुर पुगेर त्यहाँको भाषा बुझेर योगमायाको कथा लेख्न त्यति सहज थिएन,' उनले भनिन्।
इतिहास बनाउनु र भत्काउनु इतिहासको माग भएको उनले बताइन्। 'योगमाया लेख्दा पूराना कतिपय कुरा भत्किन पुगे र कतिपय नयाँ संशोधन हुँदै गए। प्रमाणित हुँदै जाँदा ती कुरा स्वीकार्य भए,' योगमायाकै अनुभव सुनाउँदै उनले भनिन्।
निहारिकाले आफूले १७ वर्षकै उमेरमा उपन्यास लेखेको र त्यो आफ्नो रुचीको क्षेत्रसमेत भएको बताएकी छन्। उनले राजमाता नामक उपन्यास बजारमा ल्याउने तयारी रहेको बताएकी छन्।
योगमाया दाहाल यज्ञ निधिले प्रेरणा दिँदै लेख्न भने झै माताले भनेका कारण राजमाता प्रकाशन गरेको बताइन्।
यस्तै लेखक तथा मदन पुरस्कार विजेता मोहन मैनालीले मुकाम रणमैदानको सिर्जनाका लागि सामग्री संकलनमा निकै मिहिनेत गर्नु परेको अनुभव सुनाएका छन्। 'म सात दिनसम्म एकै पोको पल्टाएर आफूलाई आवस्यक पर्ने सामग्री खोज्थे। त्यसरी मैले थुप्रै सामग्री खोतलेको छु। कतिपय सामग्रीको भाषा बुझ्न निकै गाह्रो थियो। किनकि पूराना अक्षर बुझ्न गाह्रो थियो,' उनले भने।
मुकाम रणमैदान सिर्जना गर्भबारे धारणा राख्दै मैनालीले कुनै लडाइँ हार्दा पनि त्यहाँ बहादुरी हुने विषय संहालेको बताए। 'कुनै लडाइँ जित्दा पनि त्यहाँ बहादुरी नहुन सक्छ। त्यसैले जित्नेको मात्र इतिहास हुँदैन,' उनले भने।
मैनालीले १८७१/७२ को लडाइँको इतिहास उधिन्ने आफ्नो भावी रहनीति रहेको सुनाएका छन्। कार्यक्रमको सहजी करण पत्रकार विराट अनुपमले गरेका थिए।