काठमाडौं। सशस्त्र प्रहरी बलले सम्भावित मनसुनजन्य विपदलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शुक्रबार साँझदेखि पट्रोलिङ तथा माइकिङ सुरु गरेको छ।
चोभार, बल्खु, बालाजु, माछापोखरी, बनस्थलीलगायतका क्षेत्रमा गरिएको उक्त गतिविधिमा विशेषगरी खोला किनार र डुबान हुन सक्ने स्थानका बासिन्दालाई सतर्क रहन अपिल गरिएको छ। विपद् आए तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बलको टोल–फ्री नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
सशस्त्र प्रहरीले विपद् न्यूनीकरण र उद्धारका लागि देशभरका सबै युनिटलाई आवश्यक स्रोतसाधनसहित तयारी अवस्थामा राखेको जनाएको छ। महानिरीक्षक राजु अर्यालले सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको सशस्त्र प्रहरी सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
हाल सशस्त्र प्रहरी बलका गोताखोर, विपद् उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, मास क्याजुअल्टी भेइकल तथा एम्बुलेन्स तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।