काठमाडौं- ‘लामो युगको साधनाले बुनेको एउटा सपना छ मसँग। थरीथरीका आँसु, किसिम किसिमका व्यथा अनि मेरो सपनालाई जोगाउन मैले आफैंसँग गरेको कैयौं युद्ध छन्। जहाँ म हारेकी छु अनि आफैंलाई हराएकी पनि।’ मिश्रित हाँसो र भावुकताकाबीच नबिता श्रेष्ठ यसरी प्रस्तुत भइन्।
नेपाली टेबल टेनिसको इतिहासमा नबिता युग नै सिर्जना गरेकी नबिताको सपना बडो जब्बर छ। दैनिक पाँच घन्टा प्रशिक्षण गर्दै बगेका ती पसिनालाई मिठो मदिरा बनाइन्, त्यही नशामा अघि बढिन् र त सातपटक राष्ट्रिय च्याम्पियन बनिन्। जुन सपनाले उनलाई मात्र हैन पूरै देशलाई संसार चिनाउनेछ।
अनेक रोमाञ्चक सपनालाई त्याग्दै उनले टेबल टेनिसमा सपना देख्न थालिन् अनि युगौंदेखि केन्द्रित रहिन्। अबको उनको सपना दुईवटा छन्। पहिलो सपना १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टेबल टेनिसको एकल प्रतिस्पर्धामा नेपाललाई कुनै न कुनै मेडल दिलाउनु। जसका लागि उनी दैनिक पाँच घन्टा प्रशिक्षणमा छिन्। सागको महिला एकल प्रतिस्पर्धामा सिजरिन शाहको स्वर्ण पदक छ। जुन अहिलेसम्म दोहरिनसकेको छैन। सिजरिन नेपाली टेबल टेनिसमा आठपटक च्याम्पियन बनेको कीर्तिमान छ। सोही कीर्तिमान आफ्नो नाममा गर्ने नबिताको अर्को सपना हो।हुन त यसअघि उनले पहिला पाँच पटक लगातार राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान बनाएकी थिइन्। पुनः सोहि कीर्तिमानलाई भङग गर्दै उनैको नाममा सात पटक लगातार राष्ट्रिय च्याम्पियन बनेको कीर्तिमान छ।
नबिताले भनिन्, ‘म सातपटक च्याम्पियन भएँ। अबको मेरो सपना सिजरिन शाहको आठपटक च्याम्पियन बनेको कीर्तिमानीलाई भङ्ग गर्दै आफ्नो नाम कायम गर्नु हो।’ उनले थपिन्, ‘सम्भवतः त्यो मेरो सपना पनि पूरा हुने छ।’ उनले नेपालमा आयोजना हुने १३ औं सागको महिला एकल प्रतिस्पर्धामा कुनै न कुनै पदक दिलाउने सपना बोकेकी छन्। ‘१३ औं सागमा नेपाललाई पदक दिलाउनु छ। जुन साग मेरो खेल सविनको अन्तिम पनि हुन सक्नेछ,’ नबिताले भनिन्। टिममा होस् या एकलमा उस्तै प्रदर्शन रहेकी उनी विश्व वरीयतामा ४३६ औं स्थानमा रहनुलाई आमनेपाली खेल विश्लेषकले सफलताका रुपमा लिएका छन्।
भारतको गुहावटी र सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले जितेका हरेक पदकका आफ्नै पाँच दर्जनभन्दा बढी सफलताका कथा लेखिए। यी भिन्न सफलताका कथासँगै टेबल टेनिस स्टार नबिता श्रेष्ठले एलिना महर्जनसँग मिलेर जितेको महिला युगलको कास्य पदकको पनि आफ्नै महत्त्व र कथा बन्यो।
काठमाडौंको डल्लुमा जन्मिहुर्केकी नबिता बिजेश्वरी उच्च माध्यमिक विद्यालयमा आठ कक्षामा पढ्दा पढ्दै टेबल टेनिसमा लागिन्। तेक्वान्दोकी रेड-ब्ल्याक नबितालाई टेबल टेनिस बलको टिक टिक आवाजले लोभ्यायो। उनलाई त्यो आवाज यति मन पथ्र्यो कि उनले आफ्नो कोठामा नै टेबल टेनिस कोर्ट गइन् र खेल्न थालिन्। अनि सुरु भएको नबिताको टेबल टेनिस यात्रा। सन् २००६ मा कोलकाता, सन् २००८ मा कराँची र सन् २००९ मा जयपुरमा भएको जुनियर दक्षिण एसियाली च्याम्पियनसिपमा उनले युगल र टिममा गरी पाँच काश्य पदक जितेकी छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ३५ भन्दा बढी स्वर्ण पदक जितिसकेकी नबिताले काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदमा जुनियर प्रतियोगिता छाडेर सिनियरमा पहिलो फड्को मारिन्। त्यसै प्रतियोगितामा उनी सेमिफाइनलमा रीता प्रजापतिसँग पराजित भएकी थिइन्।
तर, त्यसपछि नबिताले कहिलै पछाडि फर्केर हेर्नुपरेका छैन। किनकि त्यसपछि उनी अगातार च्याम्पियन बन्दै नेपाली टेबल टेनिसमा नबिता युगको सुरुवात गरिन्। उनी ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदको छनोटका क्रममा भएको तीन चरणको छनोटमा तीनवटैमा पहिलो स्थान भइन्। त्यसपछि विराटनगरमा भएको ३३ औं राष्ट्रिय टेबल टेनिस च्याम्पियनसिप-२०६७ मा स्वेच्छा नेम्बाङलाई हराउँदै स्वर्ण जितिन्। २०६८ मा महेन्द्रनगरमा भएको च्याम्पियनसिपमा रेणुका खत्री, धनगढीमा ६०६९ मा सम्पन्न च्याम्पियनसिपको फाइनलमा रबिना देसार, काठमाडौंमा २०७० र विराटनगरमा २०७१/७२ मा भएको च्याम्पियनसिपमा एलिना महर्जन, २०७३ मा विराटनगरमै भएको ७ औं राष्ट्रिय खेलकुद र २०७४ मा काठमाडौंमा भएको राष्ट्रिय खेलकुद गरी सातपटक उपाधि जित्दै च्याम्पियन बनिन्।
लगातार नेपाली टेबल टेनिसमा जमाएको यो प्रभावसँगै उनले जापान, चीन, फ्रान्स, इन्डोनेसिया, कोरिया, ग्रिस र मलेसियालगायतका देशमा भएका विश्व च्याम्पियनसिपमा सहभागिता जनाइसकेकी छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी पुरस्कार २०६८, २०६९ र २०७० सालले लगातार पुरस्कृत हुँदै ह्याट्रिक गरिन्। त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड-२०६८ मा फिमेल प्लेयर अफ द इयरको मनोनयनमा समेत परेकी थिइन्। त्यो बेलाको उनको कथा बेग्लै छ। सोही समयमा उनी कीर्तिपुरको एक स्कुलको कार्यक्रममा उपस्थित थिई। जहाँ उनले अचानक आफ्ना बुबालाई देखिन्।
जुन पल उनको खेल जीवनको अविस्मरणीय छ। फिमेल प्लेयर अफ द इयरको मनोनयनमा परिसकेपछि उनलाई साथ दिन उनको बुबा उक्त ठाउँमा पुगेका थिए। ‘मैले बुबालाई उक्त कार्यक्रममा देख्दा खेलकुदमा मात्र सफलता लिएको रहेछु भन्ने लागेन। मैले मेरो परिवारको मन पनि जितेकी रहेछु’, नबिताले भनिन्, ‘सुरुसुरुमा बुबाले भन्न नसके पनि छोरी किन टेबल टेनिसमा लागिहोला, त्यसमा के भविष्य छ भन्ने विषय उनको अनुहार र बोलीबाट झल्किन्थ्यो। तर, त्यति बेला त्यो माया पाएँ। जुन मेरा लागि सबैभन्दा ठूलो उपाधि थियो।’
परिवार टेबल टेनिस मय...
अहिले उनको पूरै परिवार टेबल टेनिसमय छ। टेबल टेनिस प्रशिक्षक राकेश महर्जन उनका पति हुन्। नेपाल पुलिस क्लबमा कप्तानको भूमिकासमेत सम्हालेका तथा राष्ट्रियऔअन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा राम्रो छाप छाडेका राकेश र नबिता दुवैको टेबल टेनिसप्रतिको समर्पण बराबर नै छ। यसै समर्पणको कारण दक्षिण एसियाली खेलकुदमा नबिता र एलिना महर्जनको जोडी पदक जित्न सफल भएको थियो। एलिना महर्जन उनकी नन्द हुन्। उनको परिवारकी अर्की सदस्य एरिका महर्जन पनि टेबल टेनिसमा परिचित अर्को नाम हो।
एकेडेमी खोल्ने लक्ष्य...
नेपाल टेबल टेनिसमा समर्पित यो परिवारको एउटै लक्ष्य छ। आगामी दिनमा एउटा राम्रो एकेडेमी खोल्ने उनको योजना छ। नेपाली टेबल टेनिसमा एउटा नयाँ आयाम थप्ने उनको योजनापूर्ण र सार्थक हुने अनुमान टेबल टेनिस वृत्तमा धेरैको छ नै। किनकि उनले यो कुरा पुष्टि पनि गरिसकेकी छिन्। उनले नै टेबल टेनिस सिकाएर स्यान्टु श्रेष्ठ च्याम्पियन बनेका छन्।
प्रशिक्षकका रुपमा उनको दक्षता पुष्टि भयो। व्यवस्थापन सोच र दृिष्टकोण छ। समपर्ण भाव छ। यसै कारण उनी नेपाली टेबल टेनिसमा नयाँ आयाम थप्न सक्ने व्यक्तित्वका रुपमा देखिएकी छिन्। उनले पूरा गरेको आइटिटिएफ लेभल वान कोचेज कोर्स र राष्ट्रिय रेफ्रीको दक्षता उनको अभियान सफल बनाउन पक्कै सहयोगी हुनेछ।