सुबिन भट्टराई ! सबैको मनमा बस्न सफल किशोर पुस्ताको प्रिय लेखक। जसको साहित्यको रापमा मज्जैले रापिन्छ युवा पुस्ता पनि । भट्टराईका 'कथाकी पात्र'देखि प्रिय सुफीसम्म उत्तिकै प्रिय छन्। पछिल्लो पुस्ताका चर्चित युवा लेखक भट्टराईका 'समर लभ', 'साया', 'कथाकी पात्र', 'मनसुन' र 'प्रिय सुफी' लगायतका चर्चित कृति प्रकाशित छन्। भट्टराईका सबै कृतिले युवाको मन जित्ने गरेका छन्। उनको पात्र रोजाइ र कथावस्तुले नै युवाको मन जित्ने गरेको हो। सरलीकरण भट्टराईको लेखनको विशेषता हो। सुबिनका कथाका विषय माया–प्रेम नै हुन् ।
सुबिन लेखनीमा जति सरलीकरण र मिठासमा ध्यान दिन्छन् त्यो भन्दा बढी ध्यान दिन्छन् कथावस्तुमा। उनी सधंै कथामा पाठकले आफूलाई पाउन सकून् भन्ने सोच्छन् र मनसपटलमा त्यही 'पिरामिड' तयार पारेर कथा तयार पार्छन्। त्यही सोचका साथ लेखिएका कथामा युवापुस्ता पनि मज्जाले डुब्छ। त्यसरी डुब्नुु भनेको पाठकले कथामा आफूलाई कहींकतै पाउनु हो। यसरी पाठक कथामा हरानुलाई उनी आफूले तयार गरेको परिकल्पनाको पिरामिड सफल भएको ठान्छन्।
'प्रिय सुफी' गत असोजमा बजारमा आएको भट्टराईको पछिल्लो पुस्तक हो। यति बेला उनी त्यही 'प्रिय सुफी' को सफलताको न्यानो राप तापिरहेका छन्। साथै अर्को राप ताप्दैछन् छ वर्ष पुरानो पुस्तक 'समर लभ' को।
पुस्तकमार्फत युवाको मन जित्न सफल सुबिनको दोस्रो औपन्यासिक कृति 'समर लभ' मा आधारित भएर फिल्म पनि निर्माण भइरहेको छ। सुबिनले त्रिविमा पढ्दै गर्दा 'समर लभ' लेखेका हुन्। 'मैले आफूले देखेभोगेका घटनालाई नै 'समर लभ' मा लेखेको हुँ', नेपाल सयमसँग सुबिनले भने, 'समर लभ मैले त्रिविमा पढ्दा जे देखें तिनै घटनाको सँगालो हो।'
एउटा लेखकका लागि आफ्नो कृतिको कथावस्तुमा फिल्म बन्नु पक्कै पनि खुसीको कुरा हो। यतिबेला त्यही खुसीमा छन् सुबिन भट्टराई।
छ वर्ष बितिसक्दा पनि पुस्तकको राप अझै उस्तै छ। 'समर लभ'का पाठक घटेका छैनन् झनै थपिँदै गएका छन्। यसैको कथावस्तुमा फिल्म बन्नुले पनि यसको लोकप्रियता प्रस्ट हुन्छ। 'प्रिय सुफी' र 'समर लभ' को रापमा सँगै रापिन पाएकोमा सुबिन यतिबेला दंग छन्। सुरुमा 'समर लभ' ले यो स्तरको लोकप्रियता पाउँछ भन्ने लागेको थियो भन्ने प्रश्नमा भट्टराई भन्छन्, 'लोकप्रिय हुन्छ भन्नेमा आफू विश्वस्त रहे पनि यो हदको सफलता पाइन्छ भन्ने चाहिँ लागेको थिएन।'
उनले पाठकको निरन्तर मायाले आफूलाई थप जिम्मेवार बनाउनुका साथै गम्भीरसमेत बनाएको बताए। नाइटिंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म 'समर लभ' माघ २५ गते प्रदर्शनमा आउने तयारीमा छ। मुस्कान ढकालले निर्देशन गरेको फिल्ममा सुरजसिंह ठकुरी, रेवती क्षेत्री, आशिष प्रिया, नम्रता सापकोटालगायतका कलाकारलाई मुख्य भूमिकामा देख्न सकिनेछ। 'समर लभ' साया र अतीतको प्रेम तथा तड्पाइको कथामा आधारित फिल्म हो।
एउटा लेखकका लागि आफ्नो कृतिको कथावस्तुमा फिल्म पक्कै पनि खुसीको कुरा हो। यतिबेला त्यही खुसीमा छन् सुबिन। फिल्मको बारेमा अहिले नै धेरै कुरा बोल्न नचाहेको उनले बताए ।
प्रेमका विषयवस्तुमा कलाम चलाउनु सुबिनको सोख हो। आफ्नो सोख भएको विषयमा कलम चलाउँदा सफलता हासिल गर्न सकिन्छ भन्ने बुझेका सुबिनले अब भने अन्य विषयमा पनि कथा लेख्ने सोच बनाएका छन्। यतिबेला पूर्णकालीन लेखनमा समय दिइरहेका सुबिन लेखनबाट राम्रैसँग जीविकोपार्जन भएको बताउँछन्। 'अरुको त भन्न सक्दिनँ। विगत ६/७ वर्षदेखि म लेखेरै बाँचेको छु', उनले भने, 'मैले लेखेरै खुसीसाथ जीवन बिताइरहेको छु। म यसैबाट सन्तुष्ट छु।'
उनले पाठकलाई नयाँ पुस्तक एक वर्षभित्रै दिने बताएका छन्। केही समयमै नयाँ पुस्तकको लेख्न थाल्ने योजनामा उनी छन् ।
उपन्यासको कथामा आधारित फिल्म बन्ने क्रम पनि बढ्दो छ। लीलबहादुर क्षेत्रीको 'बसाइँ', डायमन शमशेरको 'सेतो बाघ', विश्वेश्वरप्रसाद कोइरालाको 'तीन घुम्ती', पारिजातको 'शिरीषको फूल' लगायत अन्य थुप्रै कृतिमा पनि फिल्म बने। तर, जसरी पुस्तकले लेखकको मन तान्न सकेको छ त्यसरी फिल्मले सकेन। यतिबेला युवा पुस्ताले औधी रुचाएका लेखक सुबिनको उपन्यास 'समर लभ' मा बन्ने फिल्मले दर्शकलाई हलसम्म कत्तिको तान्न सक्नेछ ? त्यो भने हेर्न बाँकी छ। फिल्मको टेलरलाई थुप्रैले फलो गरेकाले फिल्म राम्रो चल्ने आकलन गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४