बुधबार, असार ३, २०८३

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै भोजपुरका किसान

 |  आइतबार, साउन २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०८२

भोजपुर- अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन्। यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन्।

National life

गत वर्षदेखि मूल्य वृद्धि भएपछि यहाँका किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका टेम्केमैयुङ-५ का शिवकुमार विष्टले बताए। गत वर्ष प्रतिमन अलैँची एक लाख रूपैयाँदेखि एक लाख दुई हजार रूपैयाँसम्म बिक्री भएपछि किसान उत्साहित भएको उनको भनाइ छ।

मूल्य वृद्धि भएपछि परम्परागत बालीलाई हटाएर पुनः अलैँचीखेतीमा जुटेको उनले जानकारी दिए। केही वर्षअघिसम्म मूल्यमा निरन्तर गिरावट आएपछि धेरै किसानले बगैँचा विस्तार गरेका थिएनन्।

बजारमा अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान बगैँचा विस्तारमा लागेका अलैँची व्यवसायी महासंघका अध्यक्ष राजेश विष्टले बताए। राज्यले प्राविधिक सहयोग गरेमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने उनको भनाइ छ। रोग, कीरा नियन्त्रणका लागि प्रत्येक अलैँची जोनमा एक कृषि प्राविधिक राख्न आवश्यक रहेको उनले बताए।

'मूल्य बढेसँगै अलैँचीखेती क्षेत्र विस्तारमा किसान जुटेका छन्', अध्यक्ष विष्टले भने, 'केही ठाउँमा रोग कीराको प्रकोप बढेको छ। राज्यको तहबाट राम्रो प्राविधिक सहयोग भएमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने थिए।'

Shivam cement

माटो परीक्षण गरेर नयाँ नर्सरी स्थापना गर्न सके अलैँची अझ राम्रो आम्दानीको स्रोत बन्ने अध्यक्ष विष्टले बताए। टेम्केमैयुङ-५ मा मात्र करिब एकसय ५० किसानले व्यावसायिक रूपमा अलैँचीखेती गरिरहेका छन्। 

जिल्लामा अहिले करिब पाँचसय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँ रामशाही, गोलशाही, डम्बर शाही, जिर्मले जातको अलैँचीखेती हुने गरेको छ। चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा  हेलौछा, गुप्तेश्वरलगायत ठाउँमा अलैँचीको बढी खेती हुने गरेको छ। रासस

प्रकाशित: Aug 10, 2025| 13:31 आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्