सोमबार, वैशाख १४, २०८३

ठूलोखोला जलविद्युत् आयोजनाको सुरु भयो परीक्षण उत्पादन

 |  बुधबार, साउन २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०८२

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेमा निर्माण भएको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू भएको छ। संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले १५ दिनको परीक्षण उत्पादन सफल भएपछि भदौ १ गतेदेखि व्यापारिक उत्पादन सुरू गर्ने समयतालिका बनाएको छ।

National life

संयुक्त ऊर्जाका प्लान्ट म्यानेजर विनोद पौडेलले हाल आधा क्षमता (१२.५) मेगावाट मात्र उत्पादन गरेको आयोजनाले भदौको सुरूदेखि पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा आउने जानकारी दिए।

‘आयोजनालाई पूर्ण क्षमतामा चलाउन अहिले पानीको समस्या छैन,’ उनले भने, ‘विद्युत् गृहमा जडित मेसिनको कम्पन (भाइब्रेसन) लगायतका विषय परीक्षणकै क्रममा रहेकाले उत्पादन क्षमतामा घटबढ भएको हो।’

कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरूङ र पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीस्थित रघुगंगा नदी किनारमा निर्माण भएको विद्युतगृहमा खसालेर विद्युत् उत्पादन थालिएको हो। यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरूङ र ६३४ मिटर पेनस्टक पाइपलाइनबाट विद्युत्गृहमा पानी खसालिएको छ।

आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर दूरीमा रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ। गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ।

kumari

तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सन्राइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ। आयोजनामा सिभिलतर्फ साकुरा पावर÷त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो। रासस

प्रकाशित: Aug 06, 2025| 06:01 बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्