मंगलबार, पुस १५, २०८२

पोखरामा रोकिएन लागूऔषध कारोबार

 |  बुधबार, साउन २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०८२

पोखरा- साउन महिनाभरि मात्रै पोखरामा लागुऔषधको कारोबारमा संलग्न ९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

National life

साउन ११ गते पोखरा-२७ शिशुवामा चेकजाँचका क्रममा पोखरातर्फ आउँदै गरेको एक बसबाट धादिङका कमल थापा, पोखरा निवासी राजन क्षेत्री र मोरङका सत्यनारायण चौधरी लागुऔषधसहित पक्राउ परे। त्यसै दिन पोखरा-७ धारापानीबाट नुवाकोटका रवि मिजार र कास्कीका भूपेन्द्र विक पनि लागुऔषधसहित नियन्त्रणमा आए।

साउन १७ मा वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा-५ प्रस्याङस्थित एक कोठाबाट पर्साका सुरज सहानी र म्याग्दीका सुशील परियारलाई लुकाइछिपाइ राखिएको लागुऔषधसहित पक्राउ गर्यो।

साउन १८ गते पोखरा-२७ रिठ्ठेपानीबाट धादिङका राजन गुरुङलाई लागुऔषधसहित नियन्त्रणमा लिइयो।

त्यसअघि साउन ६ मा पोखरा-३२ लामेआहालस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल चेकजाँचका क्रममा गोरखाका प्रकाश गुरुङ झन्डै ३ किलो गाँजासहित पक्राउ परेका थिए।

Laxmi sunrise bank
kumari

यी प्रतिनिधि घटनाहरूले पोखरामा लागुऔषधको कारोबार र दुव्र्यसन दिनदिनै बढ्दै गएको संकेत गर्छ। प्रहरीले अवैध कारोबारविरुद्ध अभियान चलाइरहेको भए पनि नियन्त्रणमा चुनौती कायमै रहेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका अभियुक्तहरूविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

“लागुऔषध नियन्त्रणका लागि समुदायमा सचेतना अभिवृद्धिसँगै कारोबारमा संलग्नको पहिचान र कानुनी कारबाहीमा ल्याउने कार्य तीव्र बनाइएको छ,” प्रनाउ बस्नेतले बताए।

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी ९५ मुद्दा दर्ता भएका थिए। ती मुद्दामा १२६ पुरुष र १७ महिला गरी १४३ जना पक्राउ परेका थिए।

आव २०८०/८१ मा भने १२९ वटा मुद्दा दर्ता भएका छन्, जसमा तीन विदेशी नागरिकसहित १९८ जना पक्राउ परेका छन्। तीमध्ये नेपाली पुरुष १८६, महिला ९, विदेशी पुरुष २ र महिला ३ जना रहेका छन्।

प्रनाउ बस्नेतले विद्यालय र समुदायस्तरमै पुगेर लागुऔषधको असर, रोकथाम र कानुनी व्यवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

लागुऔषधको उत्पादन, बिक्री–वितरण र ओसारपसार गर्ने कार्यलाई कानुनले अपराध ठहराएको छ। लागुऔषधसम्बन्धी कानुनले जस्तोसुकै व्यक्तिको साथमा लागुऔषध फेला परे पनि उक्त व्यक्ति अभियुक्त ठहरिने व्यवस्था गरेको छ। 

प्रकाशित: Aug 06, 2025| 07:01 बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्