चण्डीगढ़- नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़को गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता क्षेत्रीय समिति अध्यक्ष राजु चन्द ठकुरीले गरेभने सञ्चालन महासचिव ढाकाराम पौडेलले गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष आदरणीय श्री बालकृष्ण पाण्डे थिए। साथै केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि श्री पाण्डेले दीप प्रज्वलन गरी महामानव वी.पी. कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उनले प्रशिक्षण सत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नविकरण, र नयाँ फारामहरू क्षेत्रीय समितिलाई हस्तान्तरण गर्नुका साथै समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा संगठनात्मक विषयमा प्रशिक्षण दिए।
बैठकमा वी.पी. कोइरालाको स्मृति दिवस, जन्मजयन्ती, तीजको भव्य कार्यक्रम आयोजना, समिति स्थापनाको सोर्णजयन्ती, र संगठनको एकता, मेलमिलाप तथा पारदर्शिता जस्ता विषयमा गहन छलफल गरिएको थियो।