सोमबार, पुस १४, २०८२

डुबान क्षेत्रका बस्तीमा बाढीको त्रास

 |  शनिबार, असार २८, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, असार २८, २०८२

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीस्थित वनहरा नदी तटीय क्षेत्रका बासिन्दा वर्षेनी आउने बाढीको त्रासले वर्षात् सुरू हुनासाथ वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य छन्।

National life

टेकबहादुर सलामी थापा मगर विगत सात वर्षदेखि वर्षात सुरू भएलगत्तै नजिकैको सामुदायिक वनमा त्रिपाल टाँगेर परिवारसहित बस्दै आउनुभएको छ। बाढीले घर डुबाउने भएकाले उनले खाद्यान्न, ओढ्ने–ओछ्याउने सामान, बालबालिका र चौपाया लिएर समयमै सुरक्षित स्थानतर्फ सर्छन्।

उनको प्रारम्भिक थातथलो डोटीको जोरायलमा पहिरोले बगाएपछि उनी कञ्चनपुर आइपुगेका हुन्। “घर पहिरोले लगेपछि हामी पूर्ण रूपमा घरवारविहीन भयौँ,” उनले सम्झिए, “जहाँ मजदुरी पाइन्थ्यो, त्यहीँ बस्थ्यौँ, त्यसै क्रममा यहाँ आइपुग्यौँ र बस्न थाल्यौँ।”

उनले नदी किनारमै जग्गा किनेकाले बाढीले पिछा गर्न भने छाडेको छैन। “थोरै जमिन किन्यौँ, तर यहाँ पनि नदीले वर्षेनी सताउँछ,” उनले भने, “त्यसैले वर्षात् सुरू भएलगत्तै वन क्षेत्रमा सर्नुपर्छ।”

परिवार पाल्न उनी र उनकी श्रीमती मजदुरीमा निर्भर छन्। दैनिक मजदुरीबाट घरखर्च जेनतेन चलेको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

टेकबहादुर मात्र होइन, सोही बस्तीका थप छ परिवार पनि यस्तै अवस्थामा छन्। सबैले वर्षात् सुरू हुनुअगावै वन क्षेत्रमा सरेर अस्थायी त्रिपालमा बस्न थाल्छन्।

डडेल्धुराको आलितालबाट विस्थापित भएर आएका सितादेवी बोहरा पनि वनहरा नदी किनारमा बस्दै आएका छन्। पहाडको घरजग्गा पहिरोले बगाएपछि उनको परिवार यहाँ बस्न बाध्य भएको हो।

“यहाँ बस्न थालेपछि पनि बाढीले हैरान बनायो,” उनले भने, “तीन वर्षअघि त बाढीले घरभित्रको खाद्यान्नदेखि बाख्रा, गोरुसम्म बगाएर लग्यो।”

अहिले पनि आकाशमा कालो बादल देखिनेबित्तिकै उनीहरू डराउन थाल्छन्। “नदीमा बाढी आउने चिन्ताले घर छाडेर वनतिर लाग्नुपर्छ,“ उनले भने।

स्थानीय राजुराम लुहार पनि घर छाडेर वनतिर जाने तयारी अवस्थामा छन्। “चुरे क्षेत्रमा पानी प¥यो भने नदीको बाढी घर सम्मै आउँछ,” उनले भने, “घरमै बस्ने जोखिम लिन सकिँदैन।”

बाढी नआएको बेला उनीहरू घरमा फर्केर दैनिक काम गर्छन। बोटविरुवा स्याहार्ने, घर लिपपोत गर्ने तर रात बस्न भने वनमै जान्छन। विगत वर्ष वडा कार्यालयले त्रिपाल वितरण गरेको थियो। ती त्रिपाल च्यातिएपछि यस वर्ष वडा कार्यालयले सात परिवारका लागि फलामका पाइप र बलियो प्लास्टिकको छानोयुक्त अस्थायी आवास निर्माण गरिदिएको वडाध्यक्ष नवलसिंह रानाले जानकारी दिए।

“ती परिवार असुरक्षित रूपमा वनमा बस्न बाध्य थिए” उनले भने, “अब भने केही हदसम्म सुरक्षित र व्यवस्थित रूपमा बस्न सक्ने व्यवस्था मिलाइएको छ, जति वर्षा भएपछि ढुक्कसँग बस्न सक्छन्।” 

प्रकाशित: Jul 12, 2025| 08:56 शनिबार, असार २८, २०८२
प्रतिक्रिया दिनुहोस्