काठमाडौं– आज यस वर्षको अन्तिम साउने सोमबार। पाशुपत क्षेत्रमा सबेरैदेखि भक्तजनको भीड लागेको थियो। कोरोना महामारीका कारण गत वैशाख १६ गतेदेखि पशुपतिनाथमा नियमित पूजाबाहेक भक्तजन प्रवेशमा रोक लगाइएको छ। यद्यपि बिहानैदेखि श्रद्धालुहरु त्यहाँ पुगेका थिए। उनीहरूले मूल मन्दिरमा प्रवेश नपाए पनि बागमती किनार र आसपासका शिवालयमा महादेवको पूजाआराधना गरेर व्रत समापन गरेका छन्।
वर्षमा एक महिना व्रत बस्दा स्वास्थ्यका लागि पनि राम्रो हुने भक्तजन बताउँछन्। सबैतिर खुला भए पनि मन्दिरमा मात्र रोक लगाउन नहुने उनीहरूको भनाइ छ। महिनाभरि बसेको व्रत समापन गर्ने दिन भएकाले अन्तिम सोमबारलाई शिवका भक्तहरुले विशेष दिनका रुपमा लिने गर्दछन्।
साउन महिना भगवान शिवलाई मन पर्ने विश्वासमा हरेक सोमबार शिवको पूजा आराधना गर्ने गरिन्छ। स्त्रीय मान्यता छ । विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहन्दी लगाएर भगवान शिवको पुजा आराधना गर्दै ब्रत बस्ने गर्छन्। आजदेखि बोलबम यात्रा पनि समाप्त भएको छ।