शुक्रबार, असार ५, २०८३

तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते

 |  आइतबार, जेठ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

दाङ- तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। 

National life

दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र  सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए।

उनका अनुसार तुलसीपुर–अमलिया खण्डअन्तर्गत गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरियातर्फ गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा१क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रानाले बताए। घाइते सबैको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जनाउँदै उनले बसमा सवार अधिकांश एउटै गाउँका रहेका बताए।

दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय दमारगाउँबाट प्रहरी नायब निरीक्षक पारेश्वर डाँगीको कमान्डमा तीन र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक रानाको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको थियो। 

Shivam cement

घाइतेहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। दुवै बसका चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रनि रानाले उल्लेख गरे। ठक्करपछि यात्रुवाहक बस सडकबाट करिब पाँच मिटर तल पल्टिएको थियो।

प्रकाशित: Jun 08, 2025| 15:40 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्