काठमाडौं- निर्धारित समयको डेढ घण्टा बित्दासम्म संसद् बैठक सुरू हुन सकेको छैन । दिउँसो १ बजेका लागि डाकिएको बैठक सवा ३ बजेलाई सारिएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको माग राख्दै विपक्षी दलले १० दिनदेखि सदन अवरुद्ध गरिरहेका छन् ।
थप रणनीति बनाउन प्रचण्डले विपक्षी दलको बैठक राखेका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
विपक्षीले असहयोग गरेपनि आजदेखि सदन सञ्चालनको तयारीमा सत्तापक्ष पुगेका छन् । निरन्तरको सदन अवरोधले बजेटमाथिको छलफल, निजामती विधेयक टेबुललगायतका कार्यसूची ओझेलमा परेको छ । अर्थमन्त्रीले जेठ १५ मा बजेट प्रस्तुत गरेयता प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन।