काठमाडौं- आगामी दिनमा इसेवामार्फत अनलाइन होटल बुकिङ अझै सहज र छिटो भएको छ। इसेवाले आफ्नो सेवा सूचीमा होटल बुकिङ सेवा पनि थप गरेसँगै होटल खोज्न र बुक गर्न फोन गर्नुपर्ने, वेबसाइट चहार्नुपर्ने झन्झट हटेको हो।
इसेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकतानुसार होटल बुकिङ गर्न मिल्ने गरी सेवा सञ्चालन गरेको छ। नेपालको पहिलो र अग्रणी डिजिटल वालेट इसेवाले, देशभर रहेका दुई हजारभन्दा बढी होटलहरूलाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्तालाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको हो।
अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली-पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्नेसम्मका कामलाई सहज बनाउँदै आएको इसेवाले, अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको छ।
केवल केही ट्यापमै, आफ्नो आवश्यकता र बजेट अनुसार होटल बुकिङ गर्न सकिने भएकाले यो सुविधा अझ लोकप्रिय बन्ने र जनतामा अझ सहजता ल्याउने अनुमान गरिएको छ।