शुक्रबार, जेठ २३, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

 |  बिहीबार, जेठ २२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०८२

vianetvianet

काठमाडौं- देशका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार काभ्रे, बेथान चोक गाउँपालिका-६ चिहानडाँडास्थित सडकमा पनौती बसपार्कबाट मेदाम्चुतर्फ जाँदै गरेको बा.३ ख ४४३५ नम्बरको बस सडकबाट चिप्लिएर करिब ३५ मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार बनेपा नगरपालिका-९ बस्ने ६५ वर्षीया कृष्ण माया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका १ जनाको भक्तपुर इन्टरनेशनल अस्पताल भक्तपुरमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तनहुँ, म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा ग.१ ख ९३९९ नम्बरको बस र ग.१७ प ५१४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कास्की माछापुछ्रे गाउँपालिका-४ बस्ने २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारा, सिम्रौनगढ नगरपालिका-११ भगवानपुर पिपलबोटस्थित सडकमा प्र.०२- ००३-००१ ख ६६७ नम्बरको टिपरले म.प्र.०३-०३१ प ५५५० नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक पचरौता नगरपालिका-५ सखुवाड बस्ने ३५ वर्षीय हिरालाल मुखीयाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, दमक नगरपालिका-७ पशुहाटडाँडास्थित सडकमा मे.१ ख ३०२७ नम्बरको बस र प्र.१-०२-०५२ प २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने ३६ वर्षीय मिलन थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगर मोरङमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life insurance

सर्लाही, बागमती नगरपालिका-११ बागमती पुलस्थित सडकमा चपुरबाट हरिवनतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ख ००७० नम्बरको कन्टेनर गाडीले प्रदेश ३- ०२-०१४ प ९८७७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका-१ पौराही टोल बस्ने २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलगंवामा थप उपचारको क्रममा मृत्यु भएको हो। कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँके, कोहलपुर नगरपालिका-१४ हवल्दारपुर फनपार्कस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको भे.९ प ८१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ रझेना बस्ने ३५ वर्षीय सरोज मरासिनीको मृत्यु भएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ पुलचोकस्थित सडकमा भे.१३ प ३२७७ नम्बरको मोटरसाइकल र भे.११ प ९७२१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११ बस्ने ५७ वर्षीय चिरञ्जीबि अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरी, सुरूङ्गा नगरपालिका-६ स्थित सडकमा लहानबाट कडरवोनातर्फ आउँदै गरेको बा.८७ प ९९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक अग्नीसाइर कृष्णासवरन गाउँपालिका-२ बस्ने १९ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको धामिनी अस्पताल लहान सिराहामा उपचार भइरहेको छ।

रूपन्देही, सैनामैना नगरपालिका-७ देउपास्थित सडकमा कलौनीबाट हात्ती बजारतर्फ जाँदै गरेको लु.५८ प २८३२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश दर्लामीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको साझा हस्पिटल भुड्की चोक बुटवलमा उपचार भइरहेको छ।

कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडस्थित सडकमा रोकी राखेको सु.प.प्र ०१- ००२ त ५१५८ नम्बरको ट्याक्टरको ट्रलीमा से.६ प ४४३६ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा र मोटरसाइकल चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

चितवन, राप्ती नगरपालिका-५ हर्दीस्थित सडकमा भण्डाराबाट खुरखुरेतर्फ जाँदै गरेको बा.२० च ३१९५ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूषको गए राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 05, 2025| 14:12 बिहीबार, जेठ २२, २०८२
प्रतिक्रिया दिनुहोस्