काठमाडौं- प्रतिनिधि सभाको बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित भएको छ। दलहरूबीच सहमति जुट्न नसक्दा आजको बैठक बस्न नसकेको हो।
सभामुख देवराज घिमिरेको सचिवालयले संसद् बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको जनाएको छ। यसअघि संसद् सचिवालयले सूचना टाँस गरेर आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो दुई बजेसम्मका लागि बैठकको समय सारेको थियो।
मंगलबारबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेस भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो।
विपक्षी दलहरूले भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरणमा लेखक मुछिएका छन्।