शुक्रबार, जेठ २३, २०८२

उखुबाट लाखौं आम्दानी गर्दै विवेककुमार

 |  मंगलबार, जेठ २०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०८२

vianetvianet

सुनसरी- नेपालमा कमाईको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दो छ। गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन्।

अहिले युवा वैदेशिक रोजगारीको पछिपछि दौडिरहेका बेला बराहक्षेत्र नगरपालिका-११ मधुवनका २९ वर्षीय विवेककुमार महतो भने आफ्नै माटोमा उखु खेतीमै रमाइरहेका छन्।

उनले रोजगारीको जोहो यहीँबाट गरिरहरेका छन्। जीवन गुजारा गर्न विदेश जानु पर्ने बाध्यता उनलाई छैन। ‘देशमै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो, त्यसैले विदेश जाने सोच भने कहिले पनि पलाएन’ उनले सुनाए।

तीन वर्षपहिले दुई लाख ५० हजार लगानीबाट अढाई बिघा जमिनमा उखुखेती सुरु गरेका थिए। अहिले लगानी पनि बढाएका छन् भने उखुखेतीबाटै वार्षिक पाँच लाख बढी आम्दानी गरिरहेका छन्। ‘उखुखेतीमा मजदुरको अभाव भने हुँदैन, मजदुर पनि पाइन्छ’ विवेककुमार भन्छन्, ‘तर जलवायु परिवर्तनले चुनौती थपिरहेको छ।’

उखु वृद्धि र उत्पादनमा वातावरणीय असन्तुलनले प्रत्यक्ष प्रभाव पारिरहेको उनको अनुभव छ। विशेषगरी उखुको बच्चा लाग्ने समयमा अत्यधिक वर्षा हुदाँ बोटको जरा सड्ने, उखु पहेँलो हुने अनि उत्पादनमा कमी आउने समस्या हुने गरेको महतोले बताए। यस्ता असमान्य मौसम परिवर्तनले प्रभावले दीर्घकालीन रुपमा उत्पादनमा गिरावट ल्याउने सम्भावना बढरेको छ।

National life insurance

‘उखुखेतीमा सफल हुन र आम्दानी बढाउन वैज्ञानिक प्रविधिको उपयोग तथा जलवायु अनुकूल रणनीति अवलम्बन गर्नु आवश्यक छ’ महताेले भने। यसो गर्दा उत्पादनमा अझ वृद्धि हुनसक्ने उनकाे बुझाइ छ। उखु रोपेको ९ देखि १० महिनामा काट्ने मिल्छ। उखु रोपाईँ फागुनदेखि चैतसम्म गर्नु उपयुक्त मानिन्छ। उक्त उखु मंसिरदेखि माघभित्र पाकेर काट्न योग्य हुन्छ।

अरू बालीजस्तो हेरचाह गरिरहनु नपर्ने भएका कारण उखुखेती गर्न सहज हुन्छ। ‘बिक्रीका लागि बजारको समस्या हुँदैन, वार्षिक रुपमा एक हजार एक सयदेखि एक हजार दुई क्विन्टल बढी उत्पादन हुँदै आएको छ’ उनले भने। उत्पादित उखु सुनसरी र मोरङका विभिन्न चिनी उद्योगमा जान्छ। महतोका अनुसार अहिले उखुप्रति क्विन्टल ६८५ रुपैयाँमा बिक्री भइरहेको छ।

उखुको मूल्य पछिल्लो समय केही वृद्धि भएकाले आफू सन्तुष्ट रहेको उनले बताए। ‘केही वर्षअघिसम्म प्रतिक्विन्टल ६०० रुपैयाँ सम्ममा उखु बेच्नुपर्थ्याे, अहिले मूल्य बढेको छ, यसमा म सन्तुष्ट छु’ महताेले भने।  उखुको मूल्य सरकारले नै निर्धारण गर्ने प्रावधान छ। जसका कारण किसानहरुलाई स्पष्ट हुन्छ अनि व्यापारी र किसानमा मूल्यको मोलमोलाइ हुँदैन।

प्रत्येक वर्षा याम सुरु हुनासाथ सरकारले मूल्य घोषणा गर्छ। सोही अनुसार चिनी उद्योगहरुले किसानसँग उखु खरिद गर्ने गर्छन्। मकै, धान र कोदोको भन्दा कम लगानी तथा श्रम पनि कम लाग्ने साथै सरकारद्वारा मूल्य निर्धारण हुने भएपछि विश्वसनीयता हुनुका साथै सिधै चिनी मिलहरुसँगको सहकार्यले पनि उखुखेतीप्रति आफूलाई सहज र आकर्षित बनाएकाले उनकाे भनाइ छ।

महतोका अनुसार वर्षमा ८ लाख रुपैयाँ बढीको उखु उत्पादन हुन्छ। त्यसमा मल, मजदुर, गाडी भाडालगायतमा करिब दुई लाखदेखि दुई लाख ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। बाँकी पाँच लाख बढी बचत हुँदा घर व्यवहार चलाउन सजिलो हुनाका साथै मेहनत अनुसारको आम्दानीले उनी सन्तुष्ट छन्। मौसमले साथ दिएर रोग नलाग्ने हो भने अझ बढी आम्दानी हुन्छ।

‘अहिलेसम्म उखु उत्पादन राम्रै भइरहेको र आम्दानी पनि राम्रै दिएको छ, केही वर्षपछि अझ बढाएर उखुखेती विस्तार गर्ने सोचमा छु’ उनी भन्छन्, ‘पहिले अरू खेती गर्दा सोचेजस्तो आम्दानी हुन नसक्ने, दुःख र मेहनत लागे पनि उखुखेतीबाट कम लगानी कम मेहनतले आम्दानी भएपछि केही स्थायित्व आएको महसुस भने भएको छ।’

उनका अनुसार उखु काट्ने समयमा ६० जनाभन्दा बढी कामदारलाई दैनिक ७०० ज्याला दिएर कामदार लगाइन्छ। महताेले उखुमा मल लगाउने समयमा दैनिकजसो ६ जना बढी कामदार राख्ने गरेका छन्। मजदुरको अभाव पनि धेरै हुँदैन। तर, ज्याला भने पहिलेको भन्दा अलिक वृद्धि भएको छ। आफूलाई देशमा काम गर्ने मन र केही मेहनत भए आफ्नै देशमा धेरै सम्भावना रहेकाे उनकाेर् भनाइ छ।

‘मैले उखुखेतीबाट वर्षमा लाखौँ कमाइरहेको छु, विदेश गएर अरूको देश बनाउनुभन्दा आफ्नै देशमा पसिना बगाएर कमाउनु गर्वको कुरा हो। विदेश पलायन हुनुभन्दा अगाडि एक पटक खेतबारीमा पनि फर्केर सोच्नुपर्छ सम्भावना धेरै छ’ कृषक महताेले भने। रासस


 

प्रकाशित: Jun 03, 2025| 17:31 मंगलबार, जेठ २०, २०८२
प्रतिक्रिया दिनुहोस्