संसद्मा कसरी प्रस्तुत हुने भनेर तय गर्न प्रतिपक्षी दलहरु छलफलमा जुटेका छन्। संसद् भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरूको बैठक बसेको हो।
बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक १२ बज्न लाग्दा पनि सुरु भएको छैन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको कार्यकक्षमा आयोजित बैठकमा संविधानको रक्षा, गणतन्त्रको सुदृढीकरण र समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल भइरहेको बताइएको छ।
बैठकमा सहभागी दलहरूले साझा रणनीति र भावी योजनाबारे विचारविमर्श गरिरहेका छन्। विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भन्दै राजीनामा माग गर्दै आएका छन्। आफ्नो माग यथावत् राख्दै उनीहरुले सरकारलाई बजेट ल्याउन भने दिएका थिए।
प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले पनि गृहकार्य जारी राखेका छन्।
सदनको जारी गतिरोध हटाउन सभामुखले आज प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्।
लगत्तै एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरेका छन्।