शुक्रबार, असार ५, २०८३

महाकालीको माछाले धानेको जीविका

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

कञ्चनपुर- भीमदत्त नगरपालिका-१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन्। महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ। डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन्।

National life

माछा मार्न जाँदा उनले खाना पनि साथमै बोकेर जाने गरेको सुनाइन्। दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्न सकिन्छ। त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन्। ‘ताजा माछाको माग बढी हुन्छ, ग्राहकलाई पुर्‍याउनै सक्दैनौँ’ उनले भनिन्।

सानो माछा प्रतिकिलो २५० र ठूलो माछा ३०० रुपैयाँमा बिक्री हुन्छ। इन्दुको माछा मार्ने तरिका भने भिन्दै छ। खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्छिन्। माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन्।

नदीमा ढुंगा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनकाे अनुभव छ। माछा बिक्री गरेर महिनामा ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म कमाई हुने गरेको राईले बताइन्। उनकाे घर छ तर खेतीपाती गर्न जग्गा छैन। अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेकी छन्।

माछा मार्न उनीहरु समूह बनाएर जान्छन्। महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दैआएकी पार्वती चौधरी बताउँछिन्। घरको सबै खर्च माछा बिक्रीको आम्दानीले धानेकाे छ। ‘विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमै दिन बित्छ’, चौधरीले भनिन्। महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छ। रासस

Shivam cement

प्रकाशित: Jun 02, 2025| 20:01 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्