काठमाडौं- नेपाल विद्युत प्राधिकरणले अत्यधिक विद्युत खपत र नियमित महसुल भुक्तानीलाई आधार बनाई केन्द्र र प्रदेशस्तरका उपभोक्ताहरुको सूची सार्वजनिक गरेको छ।
सातैवटा प्रादेशिक कार्यालयबाट १० ग्राहकको दरले ७० तथा देशैभरिबाट १० गरी जम्मा ८० जना ग्राहकको नाम सार्वजनिक गरिएको हो । प्राधिकरणले यसरी छनोट भएका ग्राहकहरुलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने जनाएको छ।
छनोट भएका प्रदेशस्तरका ग्राहकहरुलाई प्रदेशमा र केन्द्रस्तरका ग्राहकहरुलाई केन्द्रमा कार्यक्रम राखी सम्मान गरिने प्राधिकरणले जनाएको छ। ग्राहकलाई प्रदान गर्ने सेवालाई छिटो छरितो, चुस्त र भरपर्दो बनाउने तथा ग्राहक सेवाको सेवालाई मूल मन्त्र मानेर कार्य गर्ने उद्देश्यअनुसार कार्य थालिएको प्राधिकरणले बताएको छ।
केन्द्रस्तरमा छनोट भएका १० ग्राहकको पहिलो नम्बरमा मधेश प्रदेशबाट सर्वोत्तम स्टील रहेको छ । दोस्रो र तेस्रो नम्बरमा लुम्बिनी प्रदेशका विजय श्री स्टील र गोयल इस्पात प्रालि रहेका छन् । चौथो र पाँचौं नम्बरमा आरती स्प्रिङ र प्रिमियर स्टील रहेका छन् ।
छैटौं नम्बरमा लुम्बिनी प्रदेशको श्री स्टील रहँदा सातौं नम्बरमा गण्डकी प्रदेशको होङ्सी शिवम् सिमेन्ट प्रालि रहेको छ । आठौं र नवौं नम्बरमा कोशी प्रदेशको हुलास वायर इन्डस्ट्रिज लिमिटेड र स्वस्तिक रोलिङ मिल्स रहेका छन् । दशौं नम्बरमा मधेश प्रदेशको जगदम्बा वायर्स प्रालि रहेको छ।