शुक्रबार, असार २०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेल बन्यो अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

एनसेल बन्यो अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

 |  सोमबार, जेठ ५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

vianetvianet

काठमाडौं- एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धताअनुसार जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तहरूमा हस्ताक्षर गरेको छ। यससँगै एनसेल उक्त सिद्धान्तमा हस्ताक्षर गर्ने पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी बनेको छ।


जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन हो, जसले डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन प्रेरणा र मार्गनिर्देशन प्रदान गर्छ। यी सिद्धान्तहरूमा एनसेलको हस्ताक्षरले मोबाइल प्रविधि र डिजिटल सेवाहरूमा सबैका लागि समान पहुँच र अवसर सुनिश्चित गर्नेतर्फ कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ।

एनसेलले यसअघि पनि विभिन्न समावेशी पहलकदमीहरू सञ्चालन गर्दै आएको छ। यस्ता पहलहरूमा ‘सधैँ अन’ योजनाअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्रहरूको स्थापना, अपाङ्गता मैत्री कार्यालय संरचना निर्माण, र नेपालका पारा खेलाडीहरूलाई सशक्त बनाउने सहकार्य लगायतका कार्यक्रमहरू समावेश छन्।

एनसेलका अनुसार, अब कम्पनीले आफ्ना सेवा तथा सुविधाहरूलाई अझै पहुँच योग्य बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवर्द्धन गर्ने, र विभिन्न समुदायहरूसँग सहकार्य गर्दै सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने लक्ष्य लिएको छ।

हस्ताक्षरकर्ताको रूपमा एनसेलले आफ्नो संस्थागत रणनीतिभित्र पहुँच योग्यतालाई समावेश गर्ने, समावेशी सेवा तथा समाधानहरू विकास गर्ने, र अपाङ्गता भएका व्यक्तिहरूको समुदायसँग सक्रिय संवादमार्फत उनीहरूको विशेष आवश्यकतालाई बुझ्ने तथा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट्स डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौं, हामी मानिसहरूलाई सशक्त बनाइरहेका छौं। जीएसएमएसँग अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने यी सिद्धान्तहरूमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्वपूर्ण कदम अगाडि बढाइरहेका छौं। हातेमालो गर्दै, हामीले डिजिटल दुनियामा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौं।”

जीएसएमएसँगको सहकार्यसँगै, एनसेलले अब विश्वभरका दूरसञ्चार कम्पनीहरूसँग मिलेर मोबाइल प्रविधिलाई अझ समावेशी बनाउनका लागि संयुक्त पहल गर्नेछ। यसले अपाङ्गता भएका व्यक्तिहरूलाई केवल कनेक्टेड बनाउने मात्र होइन, उनीहरूको सामाजिक र आर्थिक सशक्तिकरणमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित: May 19, 2025| 12:21 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्