आइतबार, मंसिर २८, २०८२

१३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती, ३८ जनालाई रोजगारी

 |  आइतबार, वैशाख २८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०८२

दाङ- घोराही उमहानगरपालिका-१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका-७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन्। उनले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन्।

National life

खड्काले व्यावसायिकरूपमा तरकारीखेतीमा लागेको १० वर्ष भयो। बुबाले गरेको कर्मलाई नै मार्गदर्शन मानेर खड्काले सुरुमा थोरै मात्रामा खेती गर्दै आएको भए पनि व्यावसायिक रूपमा लागेपछि ठूलो परिमाणमा खेती गरेका हुन्।

तरकारीखेती गर्दै जाँदा लगाउने आधुनिक तरिकाबारे सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उनको भनाइ छ। किसान खड्काले खेती गर्दै जाँदा यसमा धेरै कुराको अनुभव बटुल्न पाएको बताए। 'स्वदेशमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ गर्दै आएको तरकारीखेतीले प्रतिफल राम्रो दिँदै गएको छ', उनले भने, 'कृषि पेसामा पनि आफूले तरकारीखेती नै धेरै सम्भावना देखेर यसलाई निरन्तरता दिँदै आएको छु, त्यसैअनुरुप खेती गर्दै जाँदा उत्पादन बढ्न थाल्यो।'

राप्ती बबई एग्रिकल्चर प्रालिमार्फत सञ्चालन गर्दै आएको खेतीमा उनले बोडी, काक्रा, करेला, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आएका छन्। केही वर्ष अगाडि रोल्पामा पनि तरकारीखेती गरेको, त्यहाँ ढुवानी र बजारको समस्या हुने भएकाले दाङमा झरेर थप व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएको किसान खड्का बताउँछन्।

जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका खड्काले यसबाट आकर्षक आम्दानी हुने गरेको बताए। सानैदेखि नै यही पेसामा लागेकाले आफूले अन्य कामतिर ध्यानै नदिएको र यसमै सन्तुष्ट रहेको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

खड्काले वार्षिक दुई करोड रूपैयाँभन्दा बढी मूल्यको तरकारी उत्पादन गर्दै आएका छन्। 'जसबाट ३५ प्रतिशत बचत हुने गरेको छ, भाडाको जग्गाको वार्षिक पाँच लाख रूपैयाँ तिर्ने गरेको छु', उनले भने, 'स्थानीय नागरिक तरकारी फार्ममै काम गर्न पाउँदा उनीहरू पनि खुसी भएका छन्, दुई-चार पैसा कमाउन अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ।' भोलिका दिनमा व्यवसायलाई अझ बढाउँदै लैजाने उनको सोच छ।

तरकारी फार्ममा काम गर्दै आएकी स्थानीय गीता महरा घर नजिकै काम पाउँदा खुसी भएको बताउँछिन्। काम गरेबापत तलब पनि समयमा पाउँदै आएको उनको भनाइ छ। उनीजस्तै रञ्जिता चौधरी पनि विगत दुई वर्षदेखि त्यही तरकारी फार्ममा काम गर्दै आएको बताउँछिन्। यहाँ काम गरेदेखि परिवारको घरखर्चमा केही सहयोग मिलेको उनले बताइन्। धेरै दुःख पनि नहुने दुई-चार पैसा कमाउनका लागि अन्यत्र जान नपर्ने उनको भनाइ छ।

आफ्नै देशमा उत्पादनको प्रशस्त सम्भावना भएर पनि वार्षिक करोडौँ रूपैयाँको तरकारी आयात हुँदै आएको छ। स्वदेशभित्रै उत्पादन गर्न सकिने र बजारीकरणको पनि समस्या नहुने अवस्थामा तरकारीखेतीलाई प्रोत्साहन गरी स्वदेशभित्रै रोजगारी बढाउने काममा तीनै तहका सरकारले जोड दिनुपर्नेमा स्थानीय अगुवाले सुझाव दिएका छन्। रासस

प्रकाशित: May 11, 2025| 18:01 आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्