भारतले पाकिस्तानमाथिको आक्रमणलाई अप्रिल २२ मा जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जवाफ भनेको छ।
बुधबार बिहानै पाकिस्तानका ९ ठाउँमा मिसाइल आक्रमण गरेपछि भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी भारतको कदमबारे संक्षिप्त जानकारी गराएको हो। भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले कश्मिरको सामान्य अवस्थालाई खलल पार्ने उद्देश्यले त्यसदिन आतंककारीहरूले पर्यटकहरूलाई लक्ष्य गरी आक्रमण गरेको बताए।
उनले कश्मिरमा भएको उक्त आक्रमणमा पाकिस्तानको भूमिका रहेको प्रमाण भारतसँग रहेको पनि दाबी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। 'पहलगाम आक्रमणको जिम्मेवारी रेसिस्टेन्ट फ्रन्ट (आरटिएफ) भनिने समूहले लिएको छ। यो समूह लश्कर-ए-तैयबासँग जोडिएको छ त्यसकारण पाकिस्तानको सम्बन्ध स्पष्ट रूपमा स्थापित भएको छ,' उनले भनेका छन्।
पहलगाममा भएको आतंकवादी आक्रमणबारे विश्वव्यापी चिन्ताका बाबजुद पनि पाकिस्तानले आफ्नो भूमिबाट सञ्चालित आतंकवादी सञ्जालहरूलाई नष्ट गर्नका लागि कुनै कारबाही नचलाएकाले पनि उक्त आक्रमणमा उसको भूमिका प्रष्ट हुने मिश्रीले बताएका छन्।
सिमापारी हुने आतंकवादको जवाफमा भारतले बुधबार बिहान आक्रमण गरेको उनले प्रष्ट पारेका छन्। आक्रमण आतंकवादीहरुको आश्रयस्थलहरूलाई लक्ष्य गरेर गरिएको पनि उनले बताएको रोयटर्सले लेखेको छ।
पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने भनिसकेको छ। उसले भारतीय पक्षले हानेको ५ वटा फाइटर जेट खसालेको दाबी पनि गरेको छ।
भारतीय विदेशमन्त्री यस जयशंकर, गृहमन्त्री अमित शाह लगायतले सामाजिक सञ्जालमा लेख्दै आतंकवादविरूद्ध 'अपरेशन सिन्दुर' चलाइएको बताएका छन्।
भारतले गरेको आक्रमणबारे संयुक्त राष्ट्रसंघ, अमेरिका र चीनले प्रतिक्रिया जनाइसकेका छन्। संयुक्त राष्ट्रसंघले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ भने चीनले आक्रमणलाई खेदजनक भनेको छ। चीनले घटनालाई नजिकबाट नियालीरहेको र दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण बन्द हुने आशा व्यक्त गरेका छन्।