काठमाडौं- बागमती नदीको कटुवाल दहबाट बाग्द्वारसम्म १८ कोशको दूरीमा हुँदै आएको बागमती तीर्थयात्रा यस वर्ष पनि नहुने भएको छ। बागमती प्रदुषित भएपछि लगभग तीर्थ यात्रा रोकिएको छ। यद्यपि पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव डा. प्रदीप ढकाल भएका बेला २०७५ र २०७६ मा भएको थियो।
यात्रामा गरिनुपर्ने विधि विधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले गर्ने परम्परा छ। १७ दिनको यात्रालाई २०७५ मा ७ दिनमा झारेर सम्पन्न गरिएको थियो। २०७६ मा भने ९ दिनको यात्रा गरिएको थियो। २०७७ देखि प्रत्येक वर्ष दिन बढाउँदै १७ दिनसम्मकै यात्रा गर्ने कोषले बताए पनि सात वर्षदेखि यात्रा नै हुन छोडेको छ।
२०७७ मा कोरोना महामारीका कारण रोकिएको बागमती तीर्थयात्रा त्यसपछिका वर्षमा कोषको अरुचिका कारण हुन नसकेको स्थानीयवासीको गुनासो छ। कोष संस्कृति महाशाखाका निमित्त प्रमुख ईश्वरमान राजभण्डारी यस वर्ष पनि बागमती तीर्थयात्राको कुनै तयारी नभएको बताउँछन्। यो यात्रा नेमुनिले चलाएको विश्वास गरिन्छ।
कटुवाल दहबाट बाग्द्वारसम्म हुने यात्राका क्रममा हिमवत्खण्डमा उल्लेख भएका नदी किनारका १६५ तीर्थ स्थानमा स्नान एवं पूजा र दर्शन गरिने परम्परा छ। यसक्रममा विभिन्न स्थानमा बागमतीको तन्त्र साधनासमेत गरिने आगम घरका भट्ट मदन भट्टले बताए। यात्राले बागमती स्वच्छ राख्न जागरण गर्ने विश्वास गरिएकामा तीर्थयात्रा नै रोकिएपछि बागमती शुद्धीकरणमा अझै समस्या आउने भएको कोषको भनाइ छ। रासस