शुक्रबार, असार ५, २०८३

बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का

 |  आइतबार, वैशाख २१, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०८२

बरहथवा- उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ। बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले रु २८ लाख २५ हजारमा ठेक्का लगाएको हो।

National life

केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम रु २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो। सूचनाअनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका–७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो।

“यसपटक बागवानीको लिची अहिलेसम्मकै बढी मूल्यमा बिक्री गरेर राजस्व हासिल गर्न सफल भएका छौँ”, केन्द्रका प्रमुख रामकुमार यादवले भने, “पछिल्ला वर्षमा बागवानीको उत्पादनसँगै राजस्व पनि बढेको छ।”

बागवानी र ठेक्का प्रक्रिया दुवै व्यवस्थित हुँदा राजस्व बढेको उनको भनाइ छ। केन्द्रको ८.५ हेक्टर क्षेत्रफलमा छ सय २१ बोट लिचीखेती गरिएको छ। गत वर्ष रु २७ लाख १५ हजारमा ठेक्का लागेको लिची, उत्पादन बढ्दा यस वर्ष ठेक्का मूल्य पनि बढेको उनले बताए। बागवानीमा नौवटा जातका लिची उत्पादन हुँदै आएको छन्।

यस्तै यहाँ उत्पादन भएको आँप ठेक्काका लागि केन्द्रले यही वैशाख १६ गते सूचना प्रकाशित गरेको छ। न्यूनतम बिक्री मूल्य रु ७१ लाख ११ हजार कायम गरेर सूचना प्रकाशन गरिएको केन्द्रका प्रमुख यादवले जानकारी दिए। आँपको ठेक्का यही वैशाख ३१ गते खोलिने छ। करिब एक सय बिघामा गरिएको आँपखेतीमा छ हजार रूख छन्। त्यसमध्ये बर्सेनि तीन हजार ५०० बढी रूखले फल दिने गरेको छ। यहाँको आँप गत वर्ष रु २१ लाखमा ठेक्का लागेको थियो। बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमलगायत जातको आँप उत्पादन हुने गरेको केन्द्रका प्रमुख यादवले बताए। ठेकेदार समूहले यहाँ उत्पादन भएको लिची, आँपलगायत फलफूल काठमाडौँ, हेटौँडा, चितवनसहित देशका मुख्य सहरसम्म लैजाने गरेका छन्।

Shivam cement

प्रकाशित: May 04, 2025| 10:31 आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्