काठमाडौं- फुटबलर अञ्जिला तुम्बापोको जीवनीमा आधरित चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ। गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र अहिले पनि देशभरमा ४५ शोहरूसहित प्रदर्शन भइरहेको छ।
चलचित्रले १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले बताएका छन्।
चलचित्र युनिटले यो उपलब्धिको अवसरमा शुक्रबार विशेष समारोह आयोजना गरेको छ । निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता दिलाएको बताए। चलचित्रको कमाइबाट अञ्जिलाको घर बनाइदिने योजना उनको छ ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो। यसमा एन्जिलाले आफैं प्रमुख भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।