काठमाडौं- एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । उनले बुधबारबाट कार्यभार सम्हालेका छन् ।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका घिमिरे १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध रहेको बैंकले जनाएको छ । विभिन्न विभाग तथा शाखासमेतको नेतृत्व गरी उनले लामो अनुभव हासिल गरिसकेका छन् । यसअघि उनी नायव प्रमुख कार्यकारी अधिकृत थिए ।
बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यमा घिमिरेको विशेष योगदान रहेको बैंकले जनाएको छ । एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन उनी निरन्तर लागिपरेका छन् ।
नवनियुक्त सीईओ गोविन्द घिमिरेले बैंक सञ्चालक समिति तथा व्यवस्थापनसमक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि जिम्मेवारपूर्वक लाग्ने बताए । ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं’, उनले भने ।
साथै, आजैबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । स्वदेशी तथा विदेशी बैंकहको अनुभव बटुलेका सुदेश उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा सम्बन्धका साथै बैंकिङ व्यवसायका विज्ञ मानिन्छन् ।
बैंकले दुईको नियुक्तिसँगै अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागत गर्दै ‘समृद्ध नेपाल’ को उद्देश्यतर्फ कदम अघि बढेको बताएको छ ।