शुक्रबार, पुस ११, २०८२

गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन

 |  बिहीबार, वैशाख ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

डोटी– डोटीका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ।

National life

जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले अल्लो प्रशोधन तथा यसको कपडा बुन्ने एकमहिने तालिम सञ्चालन गरेपछि महिला यस कार्यमा जुटेका हुन्।

उक्त गाउँपालिका– ४ काउलेबजारमा पालिकाको उद्यम विकास शाखाको आर्थिक सहयोग तथा जिआईजेडको प्राविधिक सहयोगमा गाउँपालिकाले करिब २० लाख लगानीमा अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादनमा सहयोग तथा तालिम दिएको थियो।

अल्लो प्रशोधनका लागि उपकरण र कपडा बुन्ने तानलगायत सामग्री बडीकेदार गाउँपालिकाले उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादन गर्न थालिएको उद्यम विकास शाखा प्रमुख भूपेन्द्रबहादुर बोहराले जानकारी दिए। यहाँका १५ जना महिला मिलेर अल्लो प्रशोधन तथा कपडा बन्नमा जुटेका उनले बताए।

गाउँपालिका अध्यक्ष भैरव साउदले पछिल्लो समय अल्लोको धागो र कपडाको माग उच्च रहेकाले पालिकाले आवश्यक सहयोग गरेको बताए।

Laxmi sunrise bank
kumari

अल्लोको कपडाबाट कोट, टोपी, झोला, जुत्तालगायतका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरी यस कार्यमा लाग्न सहजीकरण गरिएको उनको भनाइ छ।

गाउँपालिकाका उपाध्यक्ष डम्बरी विष्ट कलेलले अल्लोको व्यावसायिक उत्पादन गरी बजार विस्तार गर्नुपर्ने बताइन्। यस व्यवसायलाई पूर्णकालीन बनाउँदै उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्नुपर्ने उनको भनाइ छ।

गाउँमै अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन हुन थालेपछि स्थानीय उद्यमीको आम्दानीको आधार बन्न थालेको उद्यमी तुल्सी बुढामगरले बताए। उनले यस कार्यको दिगो व्यवस्थापनका लागि आफूहरू जुटेको र यसमा सरोकार भएका निकायले पनि थप प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: Apr 24, 2025| 08:15 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्