शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्रे गरिँदै ओढारचौर-ढोडेनी सडक

ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्रे गरिँदै ओढारचौर-ढोडेनी सडक

 |  बुधबार, वैशाख १०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

ढोरपाटन- बागलुङको ओढारचौर-ढोडेनी सडक ट्रयाक खुलेको २६ वर्षपछि स्तरोन्नति हुन थालेको छ। विसं २०५६ मा स्थानीयले गैँची र कोदालोको सहायताले ट्रयाक खोलेको सडक साढे दुई दशकपछि स्तरोन्नति हुन थालेको हो।

National life

तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको पाँच लाख रूपैयाँ र ढोडेनीका स्थानीयले २०५६ सालमा ३६ दिनसम्म श्रमदान गरेर निर्माण गरेको सडक आगामी असार महिनाभित्र कालोपत्र हुनेगरी धमाधम काम भइरहेको छ।

विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले तीनवटा सडक कालोपत्र गर्न ५८ करोड रूपैयाँ अनुदान पाएको थियो। उक्त बजेटबाट कालोपत्र गर्नका लागि बागलुङ नगरपालिकाले ओढारचौर-ढोडेनी फोर्से सडकसँगै वडा नम्बर १ गणेशथान घुम्ती-माझीबस्ती-निरयघाट सडक र वडा नम्बर ७ को मूलपानी स्कुल हर्राचौर कालीमाटी-तितौरे सडक छनोट गरेको थियो।

नगरपालिकाले ०८१ जेठ १५ गते आशिष/फेवा जेवीसँग १२.५ किलोमिटर सडक कालोपत्र गर्न ४९ करोड २१ लाख रूपैयाँमा २०८२ असार ३० भित्रमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो। लामो समयपछि सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी भएका छन्।

बागलुङ-४ ढोडेनीका प्रेमप्रसाद आचार्यले २६ वर्ष अगाडि आफू ५४ वर्षको उमेर हुँदा कम्मरमा लट्ठा बाँधेर गैँची र कोदालोले ओढारचौरको पहरो फोडेर सडक निर्माण गरेको स्मरण गरे। आफूले भोगेको दु:ख छोरानातिले नभोगुन भनेर त्यो बेला स्थानीय एकजुट भएको उनी बताउँछन्।

Shivam cement

उनले भने, 'उति बेला अहिलेको जस्तो मेसिनको सुविधा थिएन, हामीहरुले पहरोमा गल गाडेर, गलमा लट्ठो बाँधेर त्यही लट्ठो कम्मरमा बाँधी झुन्डिएर भिर काटेर डोरेटो खनेका थियौँ, आचार्यले भने, अहिले 'म ७९ वर्षको भए, बाटो बन्न २६ वर्ष लाग्यो।'

अहिले उक्त सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायतका काम सकिएको निर्माण कम्पनीका इञ्जिनियर मनोज शर्माले जानकारी दिए। बैशाख महिनाभित्रै कालोपत्र समेत गरिसक्ने गरी काम भइरहेको शर्माले बताए। काम सुरु गरेको पाँच महिनामा संरचना निर्माणको ९५ प्रतिशत काम सकिएको उनी बताउँछन्। रासस

प्रकाशित: Apr 23, 2025| 17:01 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्