बुधबार, वैशाख १०, २०८२

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

 |  बुधबार, वैशाख १०, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

vianetvianet

सिरहा- दलित समुदायको ६० घरपरिवार बसोबास गर्दै आएको सिराहाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीमा ४८ वटा कलधारा निर्माण भएको छ। हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा चार सय बढी जनसङ्ख्या बसोबास गर्छन्। 

triton college

गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि कलधारा निर्माण भएको हो। कल धारा निर्माण भएसँगै कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति मिलेको छ। ‘कुवाको पानी पिउने, हातमुख धुने, नुहाउने, भाँडा माझ्नेलगायत काममा प्रयोग हुन्थ्यो’, स्थानीय अधनियादेवी सदायले भनिन्, ‘अहिले कलधारा निर्माण भएपछि पानीको समस्या समाधान भएको छ।’

कल भारा नहुँदा स्थानीयलाई हातमुख धुन, घरायसी प्रयोजनका लागि आवश्यक पर्ने पानी भर्न बिहानैदेखि लाइनमा बस्नुपर्थ्यो। विगतलाई स्मरण गर्दै सदाय थप्छिन्, ‘पानीका लागि निकै दुःख र हैरानी बेहोर्नुपरेको थियो, अहिले बस्तीमा १० वटा कलधारा बनेकाले सजिलो भएको छ।’

यो कलधारा झण्डै दुई महिनाअघि संस्था र पालिकाले दिएको स्थानीय अमरिकाकुमारी सदायले बताइन्। उनका अनुसार त्यसअघि बस्तीमा रहेको कुवाबाट फोहर पानी आउथ्यो,  फोहर नै भएपनि पिउनुपर्ने बाध्यता थियो। अहिले जडान गरिएको ट्युबवेलमा भने सफा पानी आइरहेको छ। 

यस्तै समस्या थियो बरियारपट्टीको वडा नं २ स्थित खोक्सीको दलित बस्तीमा। ४० परिवार रहेको उक्त बस्तीमा अहिले दुई वटा कलधारा जडान गरिएको बस्तीकी फूलकुमारी पासवानले जानकारी दिइन्। उनका अनुसार अन्य केही कलधारा निर्माणको क्रममा छन्। 

National life insurance

त्यसैगरी वडा नं. १ स्थित नर्गीमा रहेको दलित बस्तीमा ६ वटा कलधारा निर्माण गरिएको छ। गर्मीको समयमा पानीको प्रयोग गर्न सहज भएको स्थानीय बताउँछन्। 

यहाँका दलित बस्तीमा पानीको चरम अभाव देखेपछि एकीकृत जीविकोपार्जन सुधार परियोजनाअन्तर्गत कलधारा उपलब्ध गराइएको दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक  लालुप्रसाद पोखरेलले बताए। उनी भन्छन्, ‘यत्रो बस्तीका मानिसहरू एउटै कुवाको पानीमा निर्भर हुनु परेको बाध्यता थाहा पाएपछि हामीले सहयोग गरेका हौँ। योसँगै उहाँहरूको जीविकोपार्जनका लागि अन्य सहयोगहरू पनि गरेका छौँ।’

संयोजक पोखरेलका अनुसार बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीलाई ४८ वटा कलधारा उपलब्ध गराइएको छ। उक्त कलधाराको लागत ३० देखि ६० हजार रुपैयाँसम्म छ। 

संयोजक पोखरेलले परियोजनाअन्तर्गत दलित र सीमान्तकृत समुदायको जीविकोपार्जन, आम्दानी तथा उत्पादनमा वृद्धि, सरसफाइ, स्वच्छता र खाद्य व्यवहार सुधार तथा सामुदायिक समूहको सशक्तीकरणका लागि भूमिका निर्वाह गरिरहेको जानएका छन्।  

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले विभिन्न संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रासस

प्रकाशित: Apr 23, 2025| 15:31 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्