काठमाडौं- ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन्।
दुवै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए। सो अवसरमा आयोजना अन्तर्गतको युनिट–२ को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षरोपण पनि गरेका थिए।
त्यसक्रममा उर्जामन्त्री खड्काले नेपालका लागि अरुण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए। भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको भन्दै दुवै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने बताए। 'अरुण तेस्रो समयमै सम्पन्न गर्न सके यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउनेछ,' उनले भने।
अरुण नदीमा निर्माणाधीन ९०० मेगावाट क्षमताको यो आयोजना मकालु र चिचिला गाउँपालिकाको सीमामा पर्छ। आयोजनाको शिलान्यास २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए। एक खर्ब चार अर्बको आयोजना भारतीय सरकारी कम्पनी सतलज हाइड्रोपावरले निर्माण गरिरहेको छ। आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।
मन्त्री खट्टर भ्रमणका क्रममा आज साँझ काठमाडौंमा लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता कार्यक्रममा सहभागी हुनेछन्।
बुधबार भारतीय मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ मन्दिर र पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीहरूसँग पनि उनले शिष्टाचार भेटघाट गर्नेछन्। उनी बुधबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।