काठमाडौं- सार्वजनिक यातायात व्यवसायीहरुले सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार यातायात व्यवस्था विभागमा ध्यानाकर्षण बुझाउँदै विभिन्न प्रकारको आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको भन्दै सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलनको चेतावनी दिएको हो।
विभिन्न पक्षहरुले गरेको आन्दोलनका कारण यातायात क्षेत्र नै धरासयी भएकाले सरकारले गम्भीर भएर यस विषयमा विचार गर्नुपर्ने महासंघको भनाइ छ। माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुँदा बैंक किस्ता तिर्न समस्या भएको, मजदुरलाई समस्या भएको र यात्रुहरुको अधिकारको हनन भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए। उनले आफ्नो अधिकारको माग गर्दा अरुको अधिकार हनन भएको विषयमा ख्याल गर्न अनुरोध गरेका छन्।
शिक्षकहरुले तीन सातादेखि बबरमहल- बानेश्वरको पूरै सडक ढाकेर आन्दोलन गरिरहेका छन्। आन्दोलनका कारण यातायात व्यवसायीमात्र नभई आम सर्वसाधारणले पनि दु:ख पाइरहेका छन्।