मंगलबार, वैशाख ९, २०८२

विदेशी पर्यटकले गुल्जार बन्यो खुम्बु, एकैदिन सात सय भित्रिए

 |  मंगलबार, वैशाख ९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

vianetvianet

सोलुखुम्बु- विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ। सोमबारमात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।

triton college

निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार ६ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन्। ६ सय आठ विदेशी र ८६ जना नेपाली पर्यटक रहेका उनले जानकारी दिए। श्रेष्ठले नाम्चेको यात्रामा ६ सय ५२ विदेशी र एक सय ५१ जना नेपाली रहेका बताए।

वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताए। मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिए।

उनले भने, 'लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान पनि बढाएका छौँ। सोही कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका होटलहरू पहिला नै ‘रिजर्भ’ हुन थालेका छन्।'

खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल(टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए। कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको बताउँदै स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेका उनले उल्लेख गरे।

National life insurance

उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन्। खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका उनको भनाइ छ। स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै निकुञ्जले राजस्व संकलन वृद्धि भएको जनाइएको छ।

निकुञ्जको कार्यालयका अनुसार सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति एक हजार ५ सय रूपैयाँ, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति तीन हजार रूपैयाँ र नेपालीबाट एकसय रूपैयाँ प्रवेश शुल्क लिने गरिएको छ।

उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्। उनका अनुसार अधिकांश पर्यटक काठमाडौं र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन्। त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने उनले जानकारी दिइन्।

प्रकाशित: Apr 22, 2025| 19:01 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्