धनुषामा आफ्नै आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु भएको छ। आमा भने गम्भीर अवस्थामा उपचाररत रहेको प्रहरीले जनाएको छ।
घटना सहिदनगर नगरपालिका–५ स्थित बासुदेवपट्टीको हो। ३० वर्षीया बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन्। विष सेवनबाट उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी आकृति साह र २ वर्षीय छोरी आरुसी साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
विषादी सेवनबाट गम्भीर अवस्थामा पुगेकी बबिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ।
सोमबार साँझ साढे ६ बजेतिर घरमै आमाले तीन जना छोराछोरीलाई विष खुवाएर आफूले पनि खाएकी थिइन्। स्थानीयले तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपछि प्रहरीलाई खबर गरिएको थियो।
गर्भवती रहेकी बबिताको पेटमा रहेको ९ महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ।
घरायसी विवादका कारण उनले बच्चाहरूलाई विष खुवाई आफूले पनि विष खाएको सोधपुछका क्रममा खुलेको प्रहरीको भनाइ छ।