बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ट्रयाक खोलिएको २२ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालनमा

ट्रयाक खोलिएको २२ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालनमा

 |  सोमबार, वैशाख ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

मनाङ- हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ। ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो।

National life

प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे। सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौँपछि मनाङमा बस सेवा सञ्चालन भएको बताए।

उनले भने, “भीरको सडकमा बस सञ्चालन गर्ने लक्ष्य लिइएको थियो। यो हाम्रो उपलब्धी हो। हामीले सर्वसाधारणका साथै पर्यटकलाई बस सेवा प्रवाह गर्नु आज ऐतिहासिक दिन हो।”

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले मनाङवासीलाई सहज यात्रा गराउने सपना पूरा भएको बताए। उनले भने, “हाम्रा अग्रजले सडक निर्माणमा चासो दिएकाले बसमा यात्रा गर्ने सपना पुरा भएको छ। हालका लागि कच्ची सडकमा भए पनि बस सेवा प्रारम्भ गरेका छौँ। बिस्तारै कालोपत्र सडक बन्ने अपेक्षा छ।”

नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने, “चामेबाट बस सञ्चालन भएपछि माथिल्लो मनाङबाट यात्रु भरिएर सवारीसाधन पाइँदैन कि भन्ने त्रास हटेको छ।”

Laxmi sunrise bank
kumari

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको सहजताका लागि गाउँपालिकाले नै बस सञ्चालनमा ल्याउने प्रयास गरेको बताए।

गत चैत ७ गते पहिलो पटक यात्रुबाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए। “बेसीसहर–चामे सडकमा बस सञ्चालन गर्न सकिने वा नसकिने भनेर गरिएको परीक्षण सफल भएपछि आजबाट बेसीसहरदेखि सदरमुकाम चामेसम्म नियमित बस सञ्चालन भएको हो,” उनले भने।

प्रजिअ आचार्यका अनुसार ना ६ ख ९५७९ र ना७ख ७२६७ नम्बर बस नियमित आवतजावत गर्नेछन्। अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर परीक्षणका लागि सदरमुकाम चामे पुगेर बस फर्किएपछि सञ्चालन गर्न सकिने जानकारी गराइ आइतबारदेखि नियमित बस सञ्चालन गरिएको बस सञ्चालक सुरेश घिमिरेले जानकारी दिए।

प्रकाशित: Apr 21, 2025| 06:36 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्